सुनसरी । जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका–९ निवासी २० वर्षीय आकाशकुमार खत्बे रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार उनलाई आइतबार साँझ ६ बजे आफ्नै घरबाट पक्राउ गरिएको हो ।
प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार सुनसरी जिल्ला अदालतको फैसलाबमोजिम जबर्जस्ती करणी मुद्दामा खत्बेलाई १३ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवाना तोकिएको थियो ।
सजाय कार्यान्वयनका क्रममा उनी झुम्का कारागारमा एक वर्ष आठ महिना छ दिन कैद भुक्तान गरेर बसेका थिए । तर, गत भदौ २४ गते भएको जेन्जी आन्दोलनका क्रममा उनी कारागारबाट फरार भएका थिए ।
प्रहरीका अनुसार फरार भएपछि खत्बेले ११ वर्ष तीन महिना २४ दिन कैद र पाँच लाख रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी थियो ।
प्रहरी टोलीले उनलाई आइतबार साँझ पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएको छ । आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस