२०८३, मंसिर ११ गते

बिहिवार, मंसिर ११ गते २०८३

मोरङमा प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको आरोपमा श्रीमतीसहित दुई जना पक्राउ

सोमवार, कार्तिक २४ २०८३१०:३१

विराटनगर । मोरङको जहदा गाउँपालिकामा विवाहेत्तर प्रेम सम्बन्धका कारण एक पुरुषको हत्या भएको छ । श्रीमतीको अर्कै पुरुषसँग प्रेम सम्बन्ध रहेको थाहा पाएपछि उत्पन्न विवादका क्रममा श्रीमतीले आफ्ना प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

हत्याको आरोपमा प्रहरीले जहदा गाउँपालिका–२ मोहनपुरका ४० वर्षीय बुधराम सोरेनकी श्रीमती ३५ वर्षीया कमली बास्के र भारतको बिहारस्थित कटिहार जिल्लाका २७ वर्षीय सुनील मिश्रलाई पक्राउ गरेको छ ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार आइतबार राति करिब ९ बजे बुधरामको टाउकोमा फलामको रड प्रहार गरिएको थियो । रड प्रहारबाट गम्भीर घाइते भएका उनको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार कमली र सुनीलबीच प्रेम सम्बन्ध रहेको थियो । श्रीमतीको भारतीय नागरिकसँग प्रेम सम्बन्ध रहेको जानकारी पाएपछि बुधराम र कमलीबीच विवाद भएको र उक्त विवाद हत्यासम्म पुगेको प्रहरीको निष्कर्ष छ ।

प्रेम सम्बन्धलाई निरन्तरता दिन तथा त्यसबाट उत्पन्न समस्या हटाउन दुवै जनाले मिलेर बुधरामको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी कटवालले बताए ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुवै जनालाई फरक–फरक स्थानबाट पक्राउ गरेको हो । घटनाको सूचना पाएपछि प्रहरी चौकी मझारेबाट खटिएको टोलीले सुनीललाई घटनास्थलबाटै नियन्त्रणमा लिएको थियो ।

घटनापछि फरार भएकी कमलीलाई भने प्रहरीले सोमबार बिहान करिब साढे ७ बजे घरबाट एक किलोमिटर पश्चिमतर्फ खेतमा भागिरहेको अवस्थामा फेला पारेको थियो ।

प्रहरीले हत्यामा प्रयोग भएको फलामको रडसमेत बरामद गरेको छ । घटनाको प्रकृति, हत्याअघिको विवाद र दुवै आरोपितको भूमिकाबारे थप अनुसन्धान भइरहेको एसपी कटवालले जानकारी दिए ।

उनका अनुसार विवाहेत्तर प्रेम सम्बन्ध लुकाउन प्रेमीसँग मिलेर श्रीमतीले श्रीमानको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । घटनाका अन्य पक्ष विस्तृत अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ ।

मृतक सोरेनको शव पोस्टमार्टमका लागि कोशी अस्पताल विराटनगर पठाइएको छ । पक्राउ परेका कमली र सुनीलविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij