२०८३, मंसिर ११ गते

बिहिवार, मंसिर ११ गते २०८३

सिरहामा साढे तीन वर्षीया बालिकामाथि यौन हिंसाको आरोपमा शिक्षक पक्राउ

शनिवार, कार्तिक २२ २०८३०४:४९

सिरहा । सिरहाको एक निजी विद्यालयमा अध्ययनरत साढे तीन वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा विद्यालयकै शिक्षक पक्राउ परेका छन् ।

धनगढीमाई नगरपालिका–१०, जिरोमाइलस्थित विश्वशान्ति एकेडेमीमा दैनिक प्रशासनिक जिम्मेवारीसमेत सम्हाल्दै अध्यापन गराउँदै आएका करिब २५ वर्षीय सौगात लुइँटेललाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार लुइँटेललाई गत मंगलबार जबर्जस्ती करणीसम्बन्धी कसुरमा पक्राउ गरी सिरहा जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ । पीडित बालिकाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गराई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

पीडित परिवारले दिएको जाहेरीअनुसार आरोपीले कात्तिक ८ देखि १२ गतेसम्म टिफिनको समयमा बालिकालाई विद्यालयको कार्यालयमा लगेर चकलेट दिने प्रलोभन देखाउँदै पटक–पटक यौन दुर्व्यवहार गरेको आरोप छ । कात्तिक १७ गते बालिकाले रुँदै घटनाबारे बताएपछि परिवारले प्रहरीमा जाहेरी दिएको हो ।

यसैबीच, आरोपी पक्राउ परेपछि विद्यालय सञ्चालकले केही राजनीतिक दलका नेतामार्फत जाहेरी फिर्ता लिन आर्थिक प्रलोभन, दबाब तथा धम्की दिएको पीडित परिवारले गुनासो गरेको छ । यद्यपि, प्रहरीले जाहेरी दर्ता गरी घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले पीडित परिवारको जाहेरीका आधारमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

दोषीलाई कडा कारबाही गर्न मानव अधिकार सञ्जालको माग

घटनाप्रति महिला मानव अधिकार रक्षक राष्ट्रिय सञ्जालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सञ्जालले घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी पीडित बालिकालाई न्याय सुनिश्चित गर्न माग गरेको छ ।

सञ्जालकी अध्यक्ष श्यामकुमारी साहले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा बालिकामाथिको यौन हिंसा मानव अधिकार तथा बालअधिकारको गम्भीर उल्लङ्घन भएको उल्लेख गरेकी छन् ।

विज्ञप्तिमा अनुसन्धान तथा न्यायिक प्रक्रियामा राजनीतिक, आर्थिक वा अन्य कुनै प्रकारको दबाब र प्रभाव पर्न नदिन आग्रह गरिएको छ । साथै, दोषी ठहर हुने व्यक्तिलाई कानुनअनुसार कडा कारबाही गर्न तथा पीडित बालिका र परिवारको गोपनीयता, सुरक्षा र सम्मान सुनिश्चित गर्न माग गरिएको छ ।

सञ्जालले पीडितलाई आवश्यक स्वास्थ्य उपचार, मनोसामाजिक परामर्श र कानुनी सहायता उपलब्ध गराउनसमेत सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

बालबालिकामाथि हुने यौन हिंसा रोकथामका लागि विद्यालय, स्थानीय सरकार, प्रहरी तथा सम्बन्धित निकायले प्रभावकारी सुरक्षा संयन्त्र निर्माण गर्नुपर्ने सञ्जालको माग छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij