काठमाडौँ । डाँका चोरी मुद्दामा सात वर्ष कैद सजाय भुक्तान गरेर छुटेका पूर्वसशस्त्र प्रहरी जवानसहित तीन जना खैरो हेरोइनसहित पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले बिहीबार काठमाडौँ र भक्तपुरबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका–५ का ३७ वर्षीय युवराज भण्डारी, सप्तरीको राजविराज नगरपालिका–३ का ३३ वर्षीय कौशलकुमार राय र धनुषाको नगराइन नगरपालिका–५ का गोपाल साह रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट १३२ ग्राम ११० मिलिग्राम खैरो हेरोइन, दुई लाख ५० हजार रुपैयाँ नगद र डिजिटल तराजु बरामद गरेको छ।
ब्यूरोका प्रहरी उपरीक्षक दुर्गा रेग्मीका अनुसार काठमाडौँको तारकेश्वर नगरपालिका–८ स्थित शिव मन्दिर नजिकबाट सुरुमा युवराज भण्डारी पक्राउ परेका थिए। उनको डेरा कोठामा खानतलासी गर्दा ३५ ग्राम ४६० मिलिग्राम खैरो हेरोइन र दुई लाख ५० हजार रुपैयाँ नगद फेला परेको थियो।
भण्डारी पूर्वसशस्त्र प्रहरी जवान रहेको खुलेको छ। उनीसँगको बयानका आधारमा प्रहरीले भक्तपुरबाट गोपाल साह र कौशलकुमार रायलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट थप ९६ ग्राम ६५० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।
भण्डारी यसअघि २०७६ भदौ १९ गते डाँका चोरी मुद्दामा पक्राउ परेका थिए। उक्त मुद्दामा सात वर्ष कैद र ८० हजार रुपैयाँ जरिवाना भुक्तान गरी उनी २०८३ भदौ २४ गते कारागारबाट छुटेका थिए। कारागारबाट छुटेलगत्तै उनी लागुऔषध कारोबारमा संलग्न भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार भण्डारीलाई लागुऔषध उपलब्ध गराउने व्यक्ति नख्खु कारागारमा कैद भुक्तानका क्रममा चिनजान भएका एक भारतीय नागरिक हुन्। ती भारतीय नागरिक जेनजी आन्दोलनका क्रममा २०८२ भदौ २४ गते कारागारबाट फरार भएका थिए।
फरार भारतीय नागरिकले सिरहा, धनुषा र विराटनगरका व्यक्तिमार्फत काठमाडौँमा लागुऔषध आपूर्ति गर्ने र भण्डारीले काठमाडौँमा बसेर बिक्री वितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक रेग्मीले बताएका छन्।
पक्राउ परेका तीनै जनाविरुद्ध लागुऔषध नियन्त्रण ऐनअनुसार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस