सार्वजनिक रात्रिबसमा महिला यात्रुमाथि हातपात तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मटैनाका २१ वर्षीय समीर बिष्ट, २४ वर्षीय अनिल नाथ र भीमदत्त नगरपालिका–३ तिलकेनीका २१ वर्षीय जीवन बम रहेका छन्।
प्रहरीका अनुसार गत मंगलबार कात्तिक १७ गते काठमाडौंबाट महेन्द्रनगर जाँदै गरेको सु.प.प्र. ०२–००१ ख १५६३ नम्बरको रात्रिबसमा उनीहरूले महिला यात्रुमाथि हातपात तथा अभद्र व्यवहार गरेका थिए।
घटनाको सीसीटीभी फुटेज सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाको चौतर्फी आलोचना भएको थियो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बिहीबार कात्तिक १९ गते तीनै जनालाई पक्राउ गरेको हो। उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी टेकबहादुर रावतले जानकारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस