अमेरिकाको भर्जिनियामा नेपाली मूलकी नर्स ममता काफ्ले भट्टको हत्या तथा बेपत्ता प्रकरणमा अभियुक्त उनका श्रीमान् नरेश भट्टले श्रीमतीको शव टुक्रा–टुक्रा पारेको स्वीकार गरेका छन्।
हत्यासम्बन्धी मुद्दाको सुनुवाइका क्रममा बिहीबार अदालतमा बयान दिँदै नरेशले शयनकक्षको भुईँमा ममतालाई मृत अवस्थामा फेला पारेपछि शव टुक्र्याएको बताएका हुन्।
नरेशविरुद्ध प्रथम श्रेणीको हत्या, शव लुकाएको तथा शव क्षतविक्षत पारेको अभियोग लगाइएको छ।
अदालतमा बयान दिँदै उनले सन् २०२४ जुलाई ३० को बिहान ममतालाई शयनकक्षको भुईँमा अचेत अवस्थामा फेला पारेको दाबी गरे। उनका अनुसार ममताको मुख र भुईँमा वान्ता देखिएको थियो। त्यसमा रगत, खानाका टुक्रा, क्याप्सुल तथा कीटनाशक विषादीका रूपमा प्रयोग हुने 'सेलफोस' का अवशेष रहेको उनले बताएका छन्।
नरेशका अनुसार उनले ममताको अवस्था जाँच गरेका थिए। उनलाई बोलाउने प्रयास गर्नुका साथै मुटुको चाल फर्काउन गरिने जीवनरक्षक प्रक्रिया (सीपीआर) समेत अपनाएका थिए। तर, त्यसपछि शव टुक्रा पार्ने निर्णय लिएको र सुरुमा खुट्टा अलग्याउने प्रयास गरेको उनले अदालतमा बयान दिएका छन्।
उनले शवलाई बाथरुममा लगे पनि शारीरिक रूपमा कमजोर महसुस भएपछि पहिलो दिन काम रोकेको बताएका छन्। त्यसपछि बेबी चेन्जिङ स्टेसनले शयनकक्षको ढोका छेकेर उनी नाबालक छोरीको हेरचाह, खानपान र सुताउने काममा लागेको बयानमा उल्लेख छ।
उक्त रात आफू सुत्न नसकेको र डरका कारण पूजा कोठामा समेत नगएको उनले अदालतसमक्ष बताएका छन्।
ममता काफ्लेको शव अहिलेसम्म फेला परेको छैन। नरेश भट्ट सन् २०२४ अगस्टमा पक्राउ परेयता निरन्तर हिरासतमै छन्।
युभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा नर्सका रूपमा कार्यरत ममता काममा उपस्थित नभएपछि प्रहरीले उनको खोजी तथा अनुसन्धान सुरु गरेको थियो। सुरुमा नरेशले श्रीमती बेपत्ता भएको विषय अस्वीकार गर्दै अन्तिम पटक जुलाई २९ मा देखेको बताएका थिए। तर, ममताका साथीभाइ र परिवारले भने उनले आफ्नी सानी छोरीलाई कुनै पनि हालतमा छाडेर नजाने बताएका थिए।
नरेशले अगस्ट ५, २०२४ मा मात्रै प्रहरीमा श्रीमती बेपत्ता भएको उजुरी दिएका थिए। त्यस क्रममा उनले ममताले आफूलाई छाड्ने धम्की दिएको र सम्बन्धविच्छेदको प्रस्ताव राखेको दाबी गरेका थिए।
तर, प्रहरीले उनीहरूको मुख्य शयनकक्ष र बाथरुममा रगतका टाटा फेला पारेको थियो। साथै, कपालका टुक्रा अड्किएको विद्युतीय आरा बरामद भएपछि प्रहरीले अगस्ट २२, २०२४ मा नरेशलाई पक्राउ गरेको थियो।
प्रतिक्रिया दिनुहोस