आफ्नै कार्यालय भवन नहुँदा शिक्षक सेवा आयोगको कार्यसम्पादन तथा सेवा प्रवाह प्रभावित बनेको छ। साँघुरो कोठाबाट कार्यालय सञ्चालन गर्नुपर्ने, कागजात तथा अभिलेख भण्डारणमा समस्या हुनु र प्रदेशस्तरमा शाखा कार्यालय नहुनु आयोगका प्रमुख चुनौती बनेका छन्।
आयोगको वार्षिक प्रतिवेदनअनुसार यी समस्याका कारण परीक्षा व्यवस्थापन, उत्तरपुस्तिका परीक्षण, अन्तर्वार्ता सञ्चालन तथा कार्यसम्पादन मूल्याङ्कन फारामको अभिलेखीकरणमा कठिनाइ भइरहेको छ।
त्यस्तै, अनलाइन दरखास्तबाट प्राप्त तथ्याङ्क तथा अभिलेख सुरक्षित राख्न आफ्नै भरपर्दो सर्भर र प्राविधिक जनशक्ति नहुँदा अन्य निकायमा निर्भर रहनुपर्ने अवस्था छ।
पर्याप्त सूचना तथा सञ्चार प्रविधिमैत्री जनशक्ति नहुँदा प्रश्नपत्रको स्तरीकरण, प्रश्न बैङ्क व्यवस्थापन, पाठ्यक्रम सुधार तथा उत्तरपुस्तिका परीक्षणसम्बन्धी अनुसन्धानसमेत प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ।
यसैगरी, शिक्षकहरूले कार्यसम्पादन मूल्याङ्कन फाराम समयमा नबुझाउने, आवश्यक विवरण अपूरो दिने तथा सिफारिस, प्रमाणीकरण र अङ्क प्रदान गर्ने प्रक्रियामा त्रुटि हुने समस्याले बढुवा प्रणालीलाई वस्तुनिष्ठ बनाउन कठिन भएको छ।
आयोगका गतिविधिमा सहभागी हुने विज्ञ तथा दक्ष जनशक्तिका लागि निर्धारण गरिएको खर्चसम्बन्धी मापदण्ड समयसापेक्ष परिमार्जन नहुनु पनि अर्को चुनौती बनेको छ।
आयोगले सेवा प्रवाहलाई व्यवस्थित, निष्पक्ष र प्रविधिमैत्री बनाउने प्रयास गरे पनि संरचनागत, कानुनी, प्राविधिक तथा व्यवस्थापकीय समस्या कायमै रहेको प्रतिवेदनले औँल्याएको छ।
प्रतिक्रिया दिनुहोस