२०८३, मंसिर ११ गते

बिहिवार, मंसिर ११ गते २०८३

नेपालमा आपराधिक गतिविधिमा संलग्न चिनियाँ नागरिक बढ्दै, १० महिनामा १३५ भन्दा बढी निष्कासित

बुधवार, कार्तिक १९ २०८३०१:२५

काठमाडौं । नेपालमा आपराधिक गतिविधिमा संलग्न विदेशी नागरिकमध्ये चिनियाँ नागरिकको संख्या उल्लेख्य देखिएको छ। पछिल्लो १० महिनामा मात्रै विभिन्न गतिविधिमा संलग्न तथा भिसाको उद्देश्यविपरीत काम गरेको आरोपमा १३५ भन्दा बढी चिनियाँ नागरिकलाई नेपालबाट निष्कासन गरिएको छ।

गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभाग स्रोतका अनुसार पछिल्ला वर्षमा भिसाको उद्देश्यविपरीत काम गर्ने र आपराधिक गतिविधिमा संलग्न हुने चिनियाँ नागरिकको संख्या बढ्दै गएको छ। कल बाइपास, सुन तस्करी, राजस्व छली र हुण्डी कारोबारलगायतका गतिविधिमा उनीहरूको संलग्नता देखिएको स्रोतको भनाइ छ।

अध्यागमन विभागका अनुसार सन् २०२६ जनवरी १ देखि अक्टोबर २९ सम्मको १० महिनामा ६१ देशका ५४० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरिएको छ। तीमध्ये सबैभन्दा धेरै १३५ जना चिनियाँ नागरिक छन्। यो कुल निष्कासित विदेशीको करिब २५ प्रतिशत हो।

भिसाको उद्देश्यविपरीत काम गरेको, भिसा अवधि सकिएपछि पनि बसेको तथा आपराधिक गतिविधिमा संलग्न भएको पाइएपछि उनीहरूलाई निष्कासन गरिएको विभागले जनाएको छ।

विभागको तथ्यांकअनुसार सन् २०२१ मा नेपालबाट निष्कासन गरिएका २१८ विदेशीमध्ये ३४ जना चिनियाँ थिए। सन् २०२२ मा ५७० विदेशी निष्कासन हुँदा १९१ जना चिनियाँ नागरिक थिए। त्यस्तै, सन् २०२३ मा निष्कासित ४५८ विदेशीमध्ये २०९ जना, सन् २०२४ मा ५०१ मध्ये १४१ जना र सन् २०२५ मा ५२३ मध्ये १२० जना चिनियाँ नागरिक थिए।

सन् २०२१ देखि २०२६ अक्टोबर २९ सम्मको पाँच वर्ष १० महिनामा नेपालले कुल दुई हजार ८१० जना विदेशी नागरिकलाई निष्कासन गरेको छ। तीमध्ये ८३० जना अर्थात् २९.५३ प्रतिशत चिनियाँ नागरिक रहेको विभागको तथ्यांक छ।

‘पछिल्ला वर्षमा निष्कासित विदेशीमध्ये सबैभन्दा ठूलो संख्या चिनियाँ नागरिकको छ। केही वर्षअघिसम्म भिसा अवधिभन्दा बढी बस्नेहरू बढी हुन्थे भने पछिल्ला वर्षमा गम्भीर आपराधिक गतिविधिमा संलग्न हुने गरेको पाइएको छ,’ अध्यागमन विभाग स्रोतले भन्यो।

पछिल्लो समय चिनियाँ नागरिकको संलग्नतामा सुन तस्करीका घटना पनि सार्वजनिक भएका छन्। २०८३ असोज २३ गते प्रहरीले काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–२ माथिल्लो भंगालबाट अवैध सुनसहित तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो।

उनीहरूको साथबाट २१ किलो ७५० ग्राम ६८० मिलिग्राम सुन बरामद भएको थियो। घर भाडामा लिएर अवैध रूपमा सुनको कारोबार तथा ओसारपसार भइरहेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो।

पक्राउ पर्नेमा २७ वर्षीय हान फे, ४७ वर्षीय झो लङकिन र ३७ वर्षीय वाङ जियाङझिन थिए। उनीहरूमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

त्यस्तै, २०८३ असोज ७ गते अध्यागमन विभागले एकैपटक ८८ जना चिनियाँ नागरिकको व्यावसायिक भिसा रद्द गरेको थियो। उनीहरू सिन्धुलीको मरिण गाउँपालिका–४ साहानस्थित छेन्दु टाइन फुड लिमिटेडको आर्थिक साझेदारीमा निर्माणाधीन जियान फुड्स प्रालिमा कार्यरत थिए।

अन्य कम्पनीको नाममा व्यावसायिक भिसा लिएर भिसाको उद्देश्यविपरीत काम गरेको पाइएपछि उनीहरूको भिसा रद्द गरिएको विभागले जनाएको थियो।

२०८३ असार १७ गते अध्यागमन विभागले ललितपुरको धोबीघाटबाट तीन र कीर्तिपुरको चोभारबाट छ गरी नौ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो। उनीहरूबाट १८ थान राहदानीसमेत जफत गरिएको थियो।

धोबीघाटस्थित एक घरमा ठूलो संख्यामा चिनियाँ नागरिक शंकास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा विभागले अनुगमन तथा खानतलासी गरेको थियो।

चारतले उक्त घरमा २९ जना चिनियाँ नागरिक बस्दै आएको खुलेको थियो। अनुगमनका क्रममा ११ पुरुष र ११ महिला गरी २२ जना फेला परेका थिए। तीमध्ये चार जना व्यावसायिक र १८ जना पर्यटक भिसामा नेपालमा रहेको पाइएको थियो।

उक्त घरलाई छात्रावास भनिए पनि अनुगमनका क्रममा सञ्चालनसम्बन्धी आधिकारिक साइनबोर्ड, उद्योग दर्ता, स्थानीय तहमा व्यवसाय दर्ता वा अन्य कानुनी कागजात फेला नपरेको विभागले जनाएको थियो।

अनुसन्धानका क्रममा अधिकांश चिनियाँ नागरिक पर्यटक भिसामा नेपालमा बसेर चोभारस्थित ट्रेजर्स प्रालि तथा ड्रागन ब्रिज इन्टरनेशनल प्रालिसँग आबद्ध भई काम गरिरहेको खुलेको थियो।

२०८३ जेठ २० गते पनि प्रहरीले शंकास्पद गतिविधिमा संलग्न दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१ बस्ने चीनको फुजियानका ३३ वर्षीय वाङ विन्ड र चेन सुहाङगुई थिए।

उनीहरूले भिजिट भिसामा नेपाल आएर काठमाडौंको नक्सालस्थित नारायणचौरमा आरआर बिल्डिङ एन्ट्रो टेक्नोलोजी नामक कार्यालय सञ्चालन गरेको अनुसन्धानबाट खुलेको थियो। उक्त कार्यालयबाट विदेशी मोडल तथा युवतीका नाममा लाइभ हब एपमा खाता खोली विदेशी र भारतीय नागरिकसँग कुराकानी गर्ने तथा पैसा माग्ने गरेको प्रहरीको अनुसन्धानमा देखिएको थियो।

२०८२ चैत २१ गते प्रहरीले अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको आरोपमा एक चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२६ ठमेल बस्ने ३५ वर्षीय झु यी फेङ थिए।

उनले प्रलोभन देखाएर नेपाली नागरिकका बैंक खाता प्रयोग गरी ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेको थियो। अनुसन्धानका क्रममा उनले १७ करोड ७९ लाख ७० हजार ३७१ रुपैयाँ बराबरको अभौतिक मुद्राको कारोबार गरेको पाइएको थियो।

त्यस्तै, २०८२ चैत ४ गते काठमाडौं महानगरपालिका–२७ ठमेलको ज्याठाबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित चीनको हुवानका ५३ वर्षीय टान सियाङ पक्राउ परेका थिए। उनी हुण्डी कारोबारमा संलग्न रहेको अनुसन्धानबाट खुलेको थियो।

२०८२ पुस ३० गते प्रहरीले गैरकानुनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास सञ्चालन गरेको आरोपमा सात जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा लिउ पान, गाओ झिखुन, लियु जियानवेल, डु सुवाङसेङ, पेङ काङ, काई झिसिन र झाङ हाउ थिए।

काठमाडौं महानगरपालिका–२७ ज्याठास्थित लिउ पानले सञ्चालन गरेको रेस्टुरेन्टमा कल बाइपास भइरहेको अवस्थामा उनीहरूलाई उपकरणसहित पक्राउ गरिएको थियो।

२०८२ साउन ६ गते प्रहरीले दुई किलो सुन र २४ लाख रुपैयाँ नगदसहित दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२६ ज्याठा बस्ने चीनको सिचुआनका ४६ वर्षीय चुनलिन टान र २४ वर्षीया सईमी झु थिए। भन्सार छली गरेर ल्याइएको सुन अवैध रूपमा कारोबार गर्न लागेको अवस्थामा उनीहरू पक्राउ परेका थिए।

त्यस्तै, २०८२ असार ३२ गते राजस्व छली गरी ल्याइएका विद्युतीय उपकरणसहित ३८ वर्षीय चिनियाँ नागरिक यु वाङ पक्राउ परेका थिए। काठमाडौंको पुरानो सिनामंगलबाट पक्राउ परेका उनको साथबाट दुई करोड १९ लाख ७६ हजार ७०० रुपैयाँ बराबरका ल्यापटपका पाटपुर्जा, ब्याट्री, सीसी क्यामेरा तथा एचडी क्यामेरालगायत सामग्री बरामद गरिएको थियो।

२०८२ असार २४ गते काठमाडौं महानगरपालिका–६ बौद्धस्थित नयाँबस्तीको एक घरबाट एक करोड ४४ लाख रुपैयाँसहित ४० वर्षीय चिनियाँ नागरिक वाङ जैन पक्राउ परेका थिए।

त्यसैगरी, २०८२ जेठ १५ गते विदेश लैजान लागेको ३२ हजार ४०० अमेरिकी डलरसहित ३२ वर्षीय चिनियाँ नागरिक शाओजुन लियु पक्राउ परेका थिए।

यी पछिल्लो डेढ वर्षमा नेपालमा पक्राउ परेका चिनियाँ नागरिकसँग सम्बन्धित केही प्रतिनिधिमूलक घटना हुन्। पछिल्ला वर्षमा विभिन्न प्रकृतिका आपराधिक तथा शंकास्पद गतिविधिमा विदेशी नागरिकको संलग्नता देखिन थालेपछि अध्यागमन निगरानी र सुरक्षा व्यवस्थापनमाथि पनि प्रश्न उठ्न थालेको छ।

अध्यागमन विभाग स्रोतका अनुसार नेपालमा आउने चिनियाँ नागरिक मात्र नभई सबै विदेशी नागरिकको गतिविधिमाथि प्रभावकारी निगरानी आवश्यक छ।

‘चिनियाँ मात्र होइन, नेपालमा आउने विदेशी सबैको क्रियाकलापमाथि निगरानी बढाउनुपर्ने देखिन्छ। एउटा उद्देश्यले आउने, अर्कै काम गरेर बस्ने प्रचलन मौलाउँदै गएको छ। बेलैमा यस्ता गतिविधि नरोकेमा पछि गम्भीर अवस्था आउन सक्छ,’ स्रोतले भन्यो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij