काठमाडौं । कर्णाली प्रदेशसभाका सचिव डा. अर्जुनकुमार खड्काविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
तत्कालीन कानुन तथा न्याय मन्त्रालयका उपसचिव रहेका खड्कालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रिजाल क्यानिङ एन्ड कम्पनी प्रालिसँग सम्बन्धित जग्गा सट्टापट्टा तथा बिक्री प्रकरणमा प्रतिवादी बनाएको हो।
आयोगले मंगलबार खड्कासहित ९७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। उक्त मुद्दामा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री डा. मीनेन्द्रप्रसाद रिजालसमेत प्रतिवादी रहेका छन्।
हाल कर्णाली प्रदेशसभा सचिवका रूपमा कार्यरत खड्कामाथि तत्कालीन समयमा सरकारी अधिकारीका रूपमा जग्गा सट्टापट्टा तथा बिक्री प्रक्रियामा संलग्न रहेको अभियोग लगाइएको छ।
अख्तियारले उक्त समूहका प्रतिवादीविरुद्ध ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बिगो मागदाबी गरेको छ। बिगो असुलउपर गर्नुका साथै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कैद र जरिवाना गर्नसमेत आयोगले माग गरेको छ।
अख्तियारको अभियोजनपत्रअनुसार मोरङको विराटनगर उपमहानगरपालिका–३ स्थित कित्ता नम्बर ७१ र ४८ को कुल ४ बिघा ५ कठ्ठा ९ धुर १ कन्वा जग्गा औद्योगिक प्रयोजनका लागि छुट सुविधा प्राप्त जग्गा थियो। तर, उक्त जग्गा निर्धारित औद्योगिक प्रयोजनमा प्रयोग नगरी खाली छाडिएको आयोगको दाबी छ।
औद्योगिक प्रयोजनका लागि छुट सुविधा पाएको जग्गा निर्धारित उद्देश्यअनुसार उपयोग नभएपछि त्यसलाई बनगामा गाविसस्थित कम मूल्यको जग्गासँग सट्टापट्टा गर्ने र पछि बिक्री गर्ने निर्णय गरिएको अभियोजनपत्रमा उल्लेख छ।
सोही जग्गाको सट्टापट्टा तथा बिक्री प्रक्रियामा सरकारी अधिकारीहरूको समेत भूमिका रहेको दाबी गर्दै अख्तियारले तत्कालीन प्रधानमन्त्री, मन्त्री तथा उच्चपदस्थ कर्मचारीसहित ९७ जनालाई प्रतिवादी बनाएको हो।
प्रतिक्रिया दिनुहोस