डोल्पा । डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ कैदीबन्दी तीन दिन बितिसक्दा पनि फेला परेका छैनन्। प्रहरीले सम्भावित क्षेत्रहरूमा खोजी तथा निगरानी तीव्र बनाए पनि उनीहरूको अवस्थाबारे कुनै ठोस सुराक फेला पार्न सकेको छैन।
गत शुक्रबार राति (कात्तिक १३ गते) कारागारको पक्की संरचना भत्काएर सेफ्टी ट्यांकी हुँदै आठ कैदीबन्दी फरार भएका थिए। कारागारको सुरक्षा घेरा तोडेर उनीहरू भागेपछि प्रहरीले खोजी अभियान व्यापक बनाएको छ।
फरार हुनेमा जबर्जस्ती करणी मुद्दामा कैद सजाय भोगिरहेका पाँच र चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका तीन जना छन्।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक अनिलराज गिरीले फरार कैदीबन्दीको खोजी कार्य व्यापक बनाइएको जानकारी दिए। उनीहरू भागेर जान सक्ने तथा लुक्न सक्ने सम्भावित स्थानमा उच्च निगरानी राखिएको उनले बताए।
अन्य जिल्लाका प्रहरी कार्यालयसँग समेत समन्वय गरेर खोजी भइरहेको उनको भनाइ छ।
यसअघि कारागार प्रशासक दीर्घराज आरसीले कैदीबन्दी सुत्ने कोठाको सिरानीपट्टिबाट सुरुङ खनेर नजिकै रहेको सेफ्टी ट्यांकी हुँदै उनीहरू बाहिरिएको बताएका थिए।
घटनाको राति पानी परेका कारण सुरक्षाकर्मीले कैदीबन्दी भागेको तत्काल थाहा पाउन नसकेको प्रहरीको प्रारम्भिक भनाइ छ।
तर, कारागारभित्र लामो सुरुङ खनिँदासम्म सुरक्षाकर्मी र अन्य कैदीबन्दीले समेत थाहा नपाउनुले कारागारको सुरक्षा निगरानीमाथि गम्भीर प्रश्न उठेको छ।
जिल्ला कारागार डोल्पामा १०० जना कैदीबन्दी राख्न सक्ने क्षमता रहे पनि घटनाका बेला १७ जना मात्रै थिए। उनीहरूको सुरक्षाका लागि १५ जना प्रहरी खटिएका थिए। पर्याप्त सुरक्षाकर्मी हुँदाहुँदै आठ जना कैदीबन्दी फरार हुनुले सुरक्षा व्यवस्थापनमा कमजोरी देखिएको छ।
घटनाबारे अनुसन्धान गर्न कारागार सुरक्षामा खटिएका प्रहरी तथा फरार नभएका कैदीबन्दीसँग बयान लिने र सीसीटीभी फुटेज अध्ययन गर्ने काम भइरहेको छ। सुरुङ खन्न प्रयोग गरिएका सामग्री कारागारभित्रै उपलब्ध थिए वा बाहिरबाट ल्याइएका थिए भन्ने विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
फरार आठ कैदीबन्दीको विवरण
प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार फरार हुनेहरूमा डोल्पा, जाजरकोट, रुकुम पश्चिम र सल्यानका कैदीबन्दी रहेका छन्।
-
कालीप्रसाद रोकाया, २९ वर्ष, त्रिपुरासुन्दरी नगरपालिका–७, डोल्पा।
-
हरिबहादुर बुढा (धनबहादुर), २८ वर्ष, त्रिपुरासुन्दरी नगरपालिका–४, डोल्पा।
-
यज्ञ विक, २५ वर्ष, बारेकोट गाउँपालिका–१, जाजरकोट।
-
कपिल परियार (कैलाश), १९ वर्ष, नलगाड नगरपालिका–९, जाजरकोट।
-
तिलक भण्डारी, ३८ वर्ष, आठबिसकोट नगरपालिका–५, रुकुम पश्चिम।
-
रामबहादुर कामी, ३२ वर्ष, आठबिसकोट नगरपालिका–१०, रुकुम पश्चिम।
-
आदेश भण्डारी (निशान), ३२ वर्ष, आठबिसकोट नगरपालिका–३, रुकुम पश्चिम।
-
रेशम राना, २८ वर्ष, कुमाख गाउँपालिका–५, सल्यान।
प्रहरीले फरार कैदीबन्दीको खोजी जारी राखेको छ। घटनाले जिल्ला कारागारको सुरक्षा व्यवस्था, निगरानी प्रणाली र जिम्मेवारीमाथि थप अनुसन्धान गर्नुपर्ने अवस्था सिर्जना गरेको छ।
प्रतिक्रिया दिनुहोस