काठमाडौँ । बेल्जियम, स्वीडेन, इस्टोनिया, नेदरल्यान्ड्स, लक्जमबर्ग र आयरल्यान्डका सुपरमार्केटहरूमा साइबर आक्रमण भएको छ। आक्रमणका कारण सुपरमार्केटका फ्रिज तथा फ्रिजर प्रणाली प्रभावित हुँदा ठूलो परिमाणमा खाद्य सामग्री बिग्रने जोखिम बढेको छ।
बेल्जियमको साइबर सुरक्षा केन्द्र (सीसीबी)ले सुपरमार्केटका शीतलन प्रणालीलाई लक्षित गरी साइबर आक्रमण भएको पुष्टि गरेको छ। केन्द्रकी प्रवक्ता काट्रियन एगर्सले घटनाबारे जानकारी प्राप्त भएको तर थप विवरण उपलब्ध नभएको बताएकी छन्।
समाचार एजेन्सी एपीका अनुसार ह्याकरहरूले सुपरमार्केटका शीतलन प्रणालीमा अनधिकृत पहुँच बनाएर केही स्थानमा फ्रिज तथा फ्रिजरको तापक्रम ५० डिग्री सेल्सियससम्म पुर्याएका थिए। त्यसपछि केही सुपरमार्केटले बिग्रिएका खाद्य सामग्री हटाउनुपरेको थियो।
यसअघि गत महिना फ्रान्समा पनि यस्तै प्रकृतिको साइबर आक्रमण भएको थियो। अक्टोबर १२ मा इन्टरमार्शे र कोअपरेटिभ यू सुपरमार्केटका सयौँ शाखाका शीतलन प्रणालीलाई ह्याकरहरूले निशाना बनाएका थिए।
उक्त आक्रमणबाट फ्रिज तथा फ्रिजर प्रणाली प्रभावित भएका थिए। पछिल्लो घटनाले युरोपेली सुपरमार्केटहरूको डिजिटल सुरक्षा र खाद्य भण्डारण प्रणालीको सुरक्षामाथि समेत प्रश्न उठाएको छ।
प्रतिक्रिया दिनुहोस