कर्णाली प्रदेश सरकारले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड १७ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ।
प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार ५८ प्रजातिका जडीबुटी बिक्री तथा निकासीबाट कुल चार करोड १७ लाख ६८ हजार ९९९ रुपैयाँ राजस्व सङ्कलन भएको हो।
मन्त्रालयका सूचना अधिकारी महेश नेपालीका अनुसार सबैभन्दा बढी राजस्व झ्याउ निकासीबाट प्राप्त भएको छ। प्रतिकेजी ५० रुपैयाँ राजस्व दर रहेको झ्याउ एक लाख ८१ हजार ६०९ केजी निकासी हुँदा ९५ लाख ८५ हजार ४०० रुपैयाँ राजस्व सङ्कलन भएको छ।
त्यस्तै, ९६ हजार ७९२ केजी जटामसी निकासीबाट ८७ लाख ८८ हजार ८७५ रुपैयाँ राजस्व प्राप्त भएको छ। प्रतिकेजी ३१ हजार रुपैयाँ राजस्व दर रहेको यार्सागुम्बा २५१ केजी ६५६ ग्राम बिक्री हुँदा ७५ लाख ४४ हजार ३७१ रुपैयाँ राजस्व सङ्कलन भएको मन्त्रालयले जनाएको छ।
यसैगरी, ३४ हजार ४४५ केजी कटुसीबाट २३ लाख ८१ हजार ६८० रुपैयाँ, ४१ हजार ७३२ केजी सेतक चिनीबाट २० लाख ४६ हजार ५७५ रुपैयाँ र टिमुरबाट १९ लाख ३९ हजार ४०० रुपैयाँ राजस्व सङ्कलन भएको छ।
त्यस्तै, सिलाजितबाट नौ लाख ७७ हजार ८५० रुपैयाँ, सुगन्धवालबाट नौ लाख ५० हजार ५८० रुपैयाँ र रिठ्ठाबाट नौ लाख ४७ हजार ८३८ रुपैयाँ राजस्व प्राप्त भएको सूचना अधिकारी नेपालीले जानकारी दिए।
मन्त्रालयका अनुसार उक्त आर्थिक वर्षमा कुल २१ लाख ५८ हजार ५८२ दशमलव ९४५ केजी जडीबुटी सङ्कलन भएकामा कर्णाली प्रदेशबाट १९ लाख ४६ हजार ८७५ दशमलव ७०५ केजी निकासी गरिएको छ।
प्रतिक्रिया दिनुहोस