२०८३, कार्तिक ४ गते

मंगलवार, कार्तिक ४ गते २०८३

कैलालीमा छुट्टाछुट्टै सवारी दुर्घटना, तीन जनाको मृत्यु

मंगलवार, कार्तिक ४ २०८३०१:२१

कैलालीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका, कैलारी गाउँपालिका र टीकापुरमा भएका दुर्घटनामा तीन जनाले ज्यान गुमाएका हुन्।

घोडाघोडी नगरपालिका–५ स्थित डोडा पुलनजिक सोमबार साँझ करिब ८:३० बजे गोरुगाडा र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका–५ का १६/१७ वर्षीय अमर सिंह ऐरले चलाएको गोरुगाडासँग धनगढी उपमहानगरपालिका–१७ का २९ वर्षीय विक्रम रानाले चलाएको से ८८ प ५१५६ नम्बरको मोटरसाइकल ठोक्किएको थियो।

दुर्घटनामा घाइते भएका रानालाई उपचारका लागि धनगढी रेफर गरिएको थियो। उनको राति १०:५० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

त्यस्तै, राति करिब २:३० बजे कैलारी गाउँपालिका–७ स्थित रामपुरको हुलाकी राजमार्गमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा थप एक जनाको मृत्यु भएको छ।

भजनी नगरपालिका–९ का ३० वर्षीय सञ्जय चौधरीले चलाएको नम्बर नखुलेको मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार सोही ठाउँका २६ वर्षीय शिवलाल चौधरी घाइते भएका थिए। घोडाघोडी अस्पताल सुखडमा उपचारपछि थप उपचारका लागि भारततर्फ लैजाने क्रममा उनको मृत्यु भएको जनाइएको छ।

यसैगरी, टीकापुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। सोमबार राति करिब १० बजे से ४ प ६५७९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ५३ वर्षीय लक्ष्मीराम थारू गम्भीर घाइते भएका थिए।

१९ वर्षीय आयुष चौधरीले चलाएको मोटरसाइकलको ठक्करबाट घाइते भएका थारूलाई उपचारका लागि टीकापुर अस्पताल पुर्‍याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

तीनवटै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij