काठमाडौँ। चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/८४ का लागि चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा कुल ४१८ सिट वृद्धि गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बैठकले चालु शैक्षिक सत्रका लागि कुल ९ हजार ६९१ सिट निर्धारण गरेको हो। यो सङ्ख्या गत वर्षको तुलनामा ४१८ ले बढी हो।
सिट निर्धारण प्रक्रियाका लागि देशभरका ९० शिक्षण संस्थाले स्वमूल्याङ्कन फाराम भरेर सिट माग गरेका थिए। विज्ञान तथा प्रविधिसहितको टोलीले गरेको अनुगमन प्रतिवेदनका आधारमा तीमध्ये ८४ शिक्षण संस्थाका लागि यस वर्ष सिट निर्धारण गरिएको छ।
आयोगका सदस्यसचिव हरिप्रसाद निरौलाका अनुसार एमबीबीएसतर्फ गत वर्षको तुलनामा ११० सिट वृद्धि गरिएको छ। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले एमबीबीएसका लागि ५० सिट प्राप्त गरेको छ।
त्यस्तै, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३०–३० सिट थप गरिएको छ। निजी मेडिकल कलेजमा भने यस वर्ष एमबीबीएसका सिट वृद्धि नगरिएको निरौलाले बताए।
एमबीबीएसबाहेक अन्य कार्यक्रममा पनि सिट थप गरिएको छ। बीएससी नर्सिङतर्फ गत वर्षको तुलनामा २१० सिट वृद्धि गरिएको छ भने बीएमएसमा ९८ सिट थप गरिएको छ।
प्रतिक्रिया दिनुहोस