धादिङको बेनीघाट रोराङ गाउँपालिका–३, सलाङघाटस्थित पृथ्वी राजमार्गमा हाइस र डिब्बा ट्रक एकआपसमा ठोक्किँदा चालकसहित चार जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार शुक्रबार दिउँसो करिब १ बजे काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बा २ ख ४२४७ नम्बरको यात्रुवाहक हाइस र विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख १६५६ नम्बरको डिब्बा ट्रक ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा हाइस चालक चितवनको भरतपुर महानगरपालिका–१० का ४८ वर्षीय आनन्द सापकोटा, भरतपुर–७ का ५५ वर्षीय बिमबहादुर आले मगर, भरतपुर–८ की २८ वर्षीया शोभा अधिकारी र नवलपुरको गैँडाकोट नगरपालिका–१७ का ५५ वर्षीय कृष्णबहादुर सुवेदी घाइते भएका छन्।
प्रहरीका अनुसार चालक सापकोटाको दाहिने खुट्टामा चोट लागेको छ। उनी स्टेयरिङमा च्यापिएको अवस्थामा उद्धार गरिएका थिए। आले मगरको टाउको र नाकमा चोट लागेको छ भने अधिकारीको दाहिने खुट्टा र सुवेदीको ओठमा सामान्य चोट लागेको छ।
घाइते चारै जनालाई उपचारका लागि मलेखुस्थित टिचिङ अस्पताल पठाइएको छ। घाइतेमध्ये चालक सापकोटा र आले मगरको अवस्था मध्यम तथा अधिकारी र सुवेदीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि डिब्बा ट्रकका चालक खोटाङको बाह्रपोखरी गाउँपालिका–४ का ५२ वर्षीय मनिराज राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनास्थलमा प्रहरी र ट्राफिक प्रहरीसहितको टोली खटिएको छ। दुर्घटनाका कारण अवरुद्ध भएको सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ। दुर्घटनामा दुवै सवारीसाधनमा क्षति पुगेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस