२०८३, कार्तिक १ गते

शनिवार, कार्तिक १ गते २०८३

टर्कीको इस्तानबुलमा ८० वर्षयताकै भारी वर्षा, बाढीमा तीनको मृत्यु, चार बेपत्ता

शुक्रवार, आश्विन ३० २०८३०३:२४

टर्कीको इस्तानबुलमा भारी वर्षापछि आएको बाढीले जनजीवन अस्तव्यस्त बनाएको छ। अधिकारीहरूका अनुसार कम्तीमा ८० वर्षयताकै भारी वर्षा भएको यस घटनामा तीन जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता छन्।

बुधबार बिहानदेखि सुरु भएको वर्षा दिनभर तीव्र हुँदै गएपछि इस्तानबुलका विभिन्न क्षेत्रमा अचानक बाढी आएको थियो। बाढीले सडक, घर तथा सार्वजनिक संरचनामा क्षति पुर्‍याएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा तीव्र गतिमा बगेको पानीले कारहरू बगाएको देखिन्छ।

इस्तानबुलका गभर्नर दाउत गुलले सन् १९४२ मा अभिलेख राख्न सुरु भएयताकै सबैभन्दा उच्च वर्षा भएको बताएका छन्।

गभर्नरको कार्यालयका अनुसार युरोपेली भागको कागितहाने क्षेत्रमा एउटा पार्कनजिक पुरुषको शव भेटिएपछि बाढीमा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको हो। यसअघि बालत क्षेत्रमा पोखरीमा टेकेर बिजुलीको झट्का लागेका १४ वर्षीय बालकको पनि मृत्यु भएको थियो। उनलाई अस्पताल पुर्‍याइए पनि बचाउन नसकिएको अधिकारीहरूले बताएका छन्। चार जना अझै बेपत्ता छन्।

बाढीपछि बिहीबार इस्तानबुल नगरपालिकाका टोली र दमकलकर्मीहरूले विद्यालय, फुटबल मैदान, ग्यारेज तथा अन्य स्थानबाट पानी निकाल्ने र हिलो हटाउने काम गरेका थिए।

बुधबार साँझ गभर्नर गुलले इस्तानबुलभरिका विद्यालय सोमबारसम्म बन्द रहने घोषणा गरेका थिए। उनले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन नागरिकलाई आग्रह गर्दै तल्लो तलामा बस्नेहरूलाई राति माथिल्लो तलामा सुरक्षित रहन सुझाव दिएका थिए।

इस्तानबुलको एसियाली भागस्थित बेयकोजमा तीनतले भवन परिसरको पर्खाल भत्किएपछि सुरक्षाका लागि भवन खाली गरिएको सञ्चारमाध्यमले जनाएका छन्।

अनलाइनमा सार्वजनिक भएका तथा डीएचए समाचार एजेन्सीले सङ्कलन गरेका भिडियोमा उत्तरी सार्येर जिल्लामा पार्किङ गरिएका कारहरू हिलोसहितको बाढीमा बगिरहेको देखिन्छ। अर्को भिडियोमा तीव्र गतिमा बगेको पानीबाट मानिसहरूलाई पहिलो तलाको झ्यालबाट उद्धार गरी सुरक्षित स्थानमा लगिएको देखिन्छ।

टर्कीको आपत्कालीन व्यवस्थापन निकाय एएफएडीले भारी वर्षाबाट उत्पन्न घटनाको व्यवस्थापन गर्न आपत्कालीन सहायता कक्ष स्थापना गरेको छ। बुधबार साँझसम्म बाढीका एक हजार २७७ घटना, १५ पहिरो, ४७ जना अलपत्र परेको घटना र दुई घर भत्किएको विवरण सार्वजनिक गरिएको थियो।

अधिकारीहरूले भारी वर्षा सप्ताहन्तसम्म जारी रहने अनुमान गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij