२०८३, कार्तिक १ गते

शनिवार, कार्तिक १ गते २०८३

प्रहरी दिवसमा प्रधानमन्त्री बालेन अनुपस्थित, शुभकामना सन्देश पठाए

शुक्रवार, आश्विन ३० २०८३१२:४६

काठमाडौं । ७१औँ प्रहरी दिवसका अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा प्रधानमन्त्री बालेन शाह अनुपस्थित भएका छन्। कार्यक्रममा सहभागी नभएका उनले शुभकामना सन्देश पठाएका छन्। उक्त सन्देश प्रहरी महानिरीक्षक ज्ञानबहादुर कार्कीले वाचन गरेका थिए।

प्रधानमन्त्री शाहले पठाएको सन्देशमा नेपाल प्रहरीलाई विपद् व्यवस्थापन, प्रविधि विस्तार र पूर्वाधार विकासका क्षेत्रमा सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।

उनले पछिल्लो समय बढ्दै गएका वित्तीय तथा साइबर अपराध नियन्त्रणका लागि नेपाल प्रहरीको सहकार्यमा नेपाल राष्ट्र बैंक, इन्टरनेट तथा दूरसञ्चार सेवाप्रदायक र डिजिटल वालेट सञ्चालकलाई एकै ठाउँमा ल्याएर नागरिकका गुनासा प्रभावकारी रूपमा सम्बोधन गर्ने व्यवस्था मिलाइँदै गरेको बताएका छन्।

त्यस्तै, कृत्रिम बुद्धिमत्ता (एआई), एरियल सेक्युरिटी एन्ड सपोर्ट युनिट तथा इन्टिग्रेटेड एन्टी–स्क्याम सेन्टर स्थापना गर्ने तयारी भइरहेको सन्देशमा उल्लेख छ।

प्रहरी कर्मचारी, उनीहरूका परिवार तथा सर्वसाधारणको स्वास्थ्य सेवालाई ध्यानमा राख्दै नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने सरकारको योजना रहेको पनि प्रधानमन्त्रीले बताएका छन्।

‘विपद्मा सारथी, संकटमा छहारी, प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने नाराका साथ मनाइएको प्रहरी दिवसका अवसरमा प्रधानमन्त्री शाहले आधुनिक तालिम, नीतिगत मार्गदर्शन, कानुनी सहजता र पूर्वाधार विकासमार्फत प्रहरी संगठनलाई थप सक्षम बनाइने प्रतिबद्धता व्यक्त गरेका छन्।

सन्देशमा उनले हालैको भोटेकोशी–त्रिशूली विपद् तथा विभिन्न कालखण्डमा राष्ट्रको सेवा गर्ने क्रममा ज्यान गुमाएका प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। साथै, कर्तव्य निर्वाहका क्रममा घाइते तथा अशक्त भएका प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

प्रधानमन्त्री शाहले आन्तरिक शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्न नेपाल प्रहरीले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै संकटका बेला धैर्य, सही निर्णय र कुशल कार्यसम्पादन महत्त्वपूर्ण हुने बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij