काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहोर व्यवस्थापन कार्य प्रभावित हुने जनाएको छ।
महानगरपालिकाका अनुसार नेपालीहरूको महान् पर्व बडादसैँका अवसरमा सफाइ कर्मचारीहरू पनि पर्व मनाउन जाने भएकाले उक्त अवधिमा फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको हो।
कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले कात्तिक १ देखि ४ गतेसम्म उत्पादन हुने फोहोरलाई कुहिने र नकुहिने गरी वर्गीकरण गरेर छुट्टाछुट्टै राख्न सबैलाई अनुरोध गरेकी छन्।
उनले घर, कार्यालय तथा व्यवसायबाट उत्पादन हुने फोहोर जथाभावी सडक तथा सार्वजनिक स्थानमा नफाली आफ्नै घर वा कम्पाउन्डभित्र व्यवस्थापन गर्न आग्रह गरेकी छन्।
राईले भनिन्, ‘आफ्नो घर, कार्यालय तथा व्यवसायबाट उत्पादन हुने फोहोरलाई जथाभावी रूपमा सडक र सार्वजनिक स्थानमा नफाली आफ्नै घर, कम्पाउन्डमा व्यवस्थापन गर्नुहोला।’
महानगरपालिकाले उक्त चार दिनबाहेक अन्य दिनमा भने नियमित रूपमा फोहोर व्यवस्थापन हुने जनाएको छ।
प्रतिक्रिया दिनुहोस