काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारमाथि लागेको आरोपबारे छानबिन प्रक्रिया बिहीबारदेखि सुरु भएको छ। छानबिनलाई प्रभावकारी बनाउन पार्टीको केन्द्रीय अनुशासन आयोगले ६ सदस्यीय छुट्टै छानबिन समिति गठन गरेको छ।
महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने तथा ज्यान मार्ने धम्की दिएको भनिएको अडियो सार्वजनिक भएपछि रास्वपाले आन्तरिक छानबिनका लागि अनुशासन आयोगलाई निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार आयोगले अनुशासन आयोगका उपप्रमुख एवं अधिवक्ता हरिचन्द्र भट्टराईको संयोजकत्वमा समिति गठन गरेको हो।
समितिका सदस्यहरूमा रामचन्द्र कार्की, सुशीला सिम्खडा, उपेन्द्रनन्दन तिमिल्सिना, सन्तोष आचार्य र सन्तोष विशुंके रहेका छन्।
समितिको बिहीबार बसेको पहिलो बैठकले छानबिनका लागि आवश्यक सामग्री संकलन गर्न सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरेको संयोजक भट्टराईले जानकारी दिए।
‘अडियोमा बोलिएको भनिएका सांसदज्यूको लिखित स्पष्टीकरण प्राप्त भएको छ। प्रारम्भिक अध्ययन गरेपछि अडियोलगायतका सामग्री संकलनका लागि सम्बन्धित ठाउँमा पत्राचार गरेका छौँ,’ उनले भने।
भट्टराईका अनुसार समितिले अडियो तथा भिडियो सामग्री संकलन गर्ने प्रक्रिया अघि बढाएको छ। छानबिन पूरा भएपछि समितिले आयोगलाई प्रतिवेदन बुझाउने र त्यसपछि आयोगमा प्रतिवेदनमाथि छलफल हुने उनले बताए।
महिलालाई अपशब्द प्रयोग गर्दै रकम नदिए ज्यान मार्नेसम्मको धम्की दिएको भनिएको अडियो सार्वजनिक भएपछि सांसद सुनार विवादमा परेका हुन्।
रास्वपाका केन्द्रीय सदस्यसमेत रहेका सांसद सुनारले बिहीबार पार्टीको केन्द्रीय अनुशासन आयोगसमक्ष लिखित स्पष्टीकरण पेस गरेका छन्। पार्टीले उनीमाथि लागेको आरोपबारे तत्काल आन्तरिक छानबिन गर्न आयोगलाई निर्देशन दिएको थियो।
आयोगका एक सदस्यका अनुसार सुनारले आफ्नो प्रतिनिधिमार्फत लिखित जवाफ पठाएका हुन्। छानबिन जारी रहँदासम्म सांसद सुनारलाई कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी नहुनसमेत पार्टीले निर्देशन दिएको छ।
बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद सुनारले सार्वजनिक भएको अडियो कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग गरी तयार पारिएको दाबी गर्दै आएका छन्। आयोगसमक्ष पेस गरेको लिखित स्पष्टीकरणमा उनले आफूविरुद्ध सार्वजनिक भएका आरोपहरू झुटा भएको र एआईलगायत प्रविधिको प्रयोग गरेर प्रचार गरिएको जिकिर गरेका छन्।
प्रतिक्रिया दिनुहोस