तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकमा सयपत्री फूलखेतीले स्थानीय महिलालाई आत्मनिर्भर बन्ने अवसर दिएको छ। तीन वर्षअघि सुरु भएको व्यावसायिक फूलखेती अहिले ४५ रोपनी क्षेत्रफलमा विस्तार भएको छ। यसबाट ४५ महिला उद्यमशीलता र आयआर्जनमा जोडिएका छन्।
दसैँको रौनकसँगै स्थानीय बारीमा सयपत्री फूल फुलेका छन्। सामूहिक रूपमा फूलखेती गर्दै आएका महिला अहिले फूल टिप्ने र बजारमा बिक्री गर्ने काममा व्यस्त छन्। पहिलो टिपाइमै ५० किलो फूलको माग आएपछि उनीहरूमा थप उत्साह जागेको छ।
महिला समूहकी अध्यक्ष सुन्तली गुरुङका अनुसार दमौलीमा कोसेली घर सञ्चालन गर्दै आएकी उद्यमी कल्पना गौलीले ५० किलो फूलको माग गरेपछि फूल टिप्न सुरु गरिएको हो।
स्थानीयस्तरमै फूल उत्पादन गरेर बिक्री गर्न पाउँदा महिलाले आफ्नै श्रमबाट आम्दानी गर्ने अवसर पाएका छन्। सामूहिक खेतीले श्रम र अनुभव साटासाट गर्न सहज बनाउनुका साथै स्थानीय स्रोतसाधनको उपयोगबाट आयआर्जनको बाटो खोलेको गुरुङले बताइन्।
यहाँ उत्पादित सयपत्री फूल प्रतिकिलो ४०० रुपैयाँसम्म बिक्री हुने गरेको छ। स्थानीयस्तरमा उत्पादन बढेसँगै बाहिरबाट फूल ल्याउनुपर्ने निर्भरता घटाउनसमेत सहयोग पुगेको छ।
आँबुखैरेनी गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार आँधीमूल यानचोकमा तीन वर्षदेखि व्यावसायिक सयपत्री खेती हुँदै आएको छ। स्थानीय महिलाको सक्रिय सहभागितामा विस्तार भएको यस खेतीले उत्पादनमूलक कामसँग जोड्दै उनीहरूको आर्थिक आत्मनिर्भरतामा सहयोग पुर्याएको छ।
बजारको सम्भावना राम्रो देखिएकाले उत्पादन वृद्धि र बजार विस्तार गर्न सके महिलाको आम्दानी थप बढाउन सकिने अपेक्षा गरिएको छ। सामूहिक प्रयासबाट सुरु भएको सयपत्री खेती अहिले स्थानीय महिलाका लागि उद्यमशीलता र आर्थिक सशक्तीकरणको उदाहरण बनेको छ।
प्रतिक्रिया दिनुहोस