२०८३, कार्तिक १ गते

शनिवार, कार्तिक १ गते २०८३

‘शिक्षा परीक्षा केन्द्रित होइन, व्यावहारिक र मानवीय मूल्यमा आधारित हुनुपर्छ’ : राष्ट्रपति पौडेल

शनिवार, आश्विन २४ २०८३११:३४

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आधुनिक प्रविधि र कृत्रिम बुद्धिमत्ताको युगमा शिक्षा प्रणालीलाई व्यावहारिक, सिर्जनशील र मानवीय मूल्यमा आधारित बनाउनुपर्ने बताएका छन्।

शनिबार पशुपति मित्र माध्यमिक विद्यालयको हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विद्यार्थीलाई परीक्षामा राम्रो अङ्क ल्याउने प्रतिस्पर्धामा मात्र सीमित नराखी राष्ट्रप्रति जिम्मेवार र समस्या समाधान गर्न सक्ने सक्षम नागरिकका रूपमा तयार गर्नुपर्नेमा जोड दिएका हुन्।

उनले विश्वव्यापी रूपमा भइरहेको तीव्र परिवर्तनलाई आत्मसात् गर्दै शिक्षा क्षेत्रमा समयसापेक्ष सुधार आवश्यक रहेको बताए। शिक्षालाई सैद्धान्तिक ज्ञान आर्जन गर्ने वा राम्रो अङ्क ल्याउने माध्यमका रूपमा मात्र बुझ्न नहुने उल्लेख गर्दै उनले विद्यालय तहदेखि नै विद्यार्थीमा राष्ट्रियताको भावना, सामाजिक मूल्य–मान्यता र नैतिक जिम्मेवारी विकास गर्नुपर्ने बताए।

‘विश्व तीव्र परिवर्तनको चरणबाट गुज्रिरहेको छ। विज्ञान, प्रविधि र कृत्रिम बुद्धिमत्ताको विकाससँगै विद्यार्थीलाई भविष्यका चुनौती र अवसरका लागि तयार गर्न आवश्यक छ। तर प्रविधिसँगै मानवीय विवेक, जिम्मेवारी र संवेदनशीलता पनि उत्तिकै सुदृढ हुनुपर्छ,’ उनले भने।

राष्ट्रपति पौडेलले आधुनिक ज्ञान र सीपसँगै मानवता, सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रप्रतिको जिम्मेवारीलाई शिक्षाको केन्द्रमा राख्नुपर्ने धारणा व्यक्त गरे।

शिक्षाको उद्देश्य परीक्षामा राम्रो अङ्क ल्याउनु मात्र नभई सिर्जनशील, जिम्मेवार र समस्या समाधान गर्न सक्ने नागरिक निर्माण गर्नु रहेको उनको भनाइ थियो। यसका लागि सरकार, नीतिनिर्माता, विद्यालय र समुदायबीच सहकार्य आवश्यक रहेको उनले बताए।

विगतका शैक्षिक उपलब्धिलाई आधार बनाउँदै आगामी दिनमा शिक्षा प्रणालीलाई थप प्रभावकारी बनाउन नीतिनिर्माता, शिक्षक र अभिभावकले समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्नेमा पनि राष्ट्रपति पौडेलले जोड दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij