सुदूरपश्चिम प्रदेशमा धान खेतीका लागि आवश्यक रासायनिक मलको चरम अभाव देखिएको छ। धान गोड्ने र मल हाल्ने मुख्य समयमै युरिया, डीएपी र पोटासजस्ता अत्यावश्यक मल नपाउँदा किसानहरू मर्कामा परेका छन्।
खेतमा रोपिएको धान पहेँलिन थाले पनि आवश्यक मल उपलब्ध नभएपछि यस वर्ष धान उत्पादनमा ठूलो गिरावट आउन सक्ने चिन्ताले किसानहरूलाई पिरोलेको छ। हरेक वर्षजस्तै यस वर्ष पनि किसानहरू मलका लागि कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनका कार्यालय धाइरहेका छन्। तर, लामो समय लाइनमा बस्दा पनि रित्तो हात फर्किनुपरेको उनीहरूको गुनासो छ।
किसानहरूका अनुसार धानबालीका लागि युरिया मल हाल्ने उपयुक्त समय यही हो। समय घर्किएपछि मल हाल्नुको खास अर्थ नहुने भए पनि तत्काल मल पाउने सम्भावना कमजोर बन्दै गएको उनीहरू बताउँछन्।
कैलालीको भजनीका किसान रामबहादुर चौधरीले दिनभरि लाइनमा बस्दा पनि मल नपाएको बताए। खेतमा धान पहेँलिन थालिसकेकाले तत्काल मल नहाले उत्पादन घट्ने उनको चिन्ता छ।
जोशीपुरका किसान विक्रम चौधरी र कृष्णबहादुर चौधरीको गुनासो पनि उस्तै छ। मल उपलब्ध गराउन सरकारसँग पटक–पटक आग्रह गर्नुका साथै गाउँपालिका र नगरपालिका धाउँदा पनि मल नपाएको उनीहरूले बताए।
टीकापुरका किसान रामबहादुर खत्री र विनोद केसीले बल्लतल्ल उत्पादन गरेको धान र गहुँले उचित मूल्य नपाउने तथा खेतीका लागि आवश्यक मलसमेत समयमा उपलब्ध नहुने समस्याले आफूहरू दोहोरो मारमा परेको बताए।
मल नपाएपछि आक्रोशित किसानहरू सम्बन्धित गाउँपालिका अध्यक्ष र नगरप्रमुखसमक्ष प्रतिनिधिमण्डल लिएर जाने गरेका छन्।
स्थानीय तहमा किसानको दबाब
भजनी नगरपालिकाका नगरप्रमुख केवल चौधरीले मलको माग गर्दै किसानहरू दैनिकजसो नगरपालिकामा आउने गरेको बताए। मल अभावका कारण कृषि उत्पादन घट्ने निश्चित रहेको भन्दै उनले समस्या समाधानका लागि संघीय सरकारसँग आग्रह गरिएको जानकारी दिए।
“केन्द्रीय कृषिमन्त्रीलाई फोन गरेर मल उपलब्ध गराउन अनुरोध गरेँ, तर सुनुवाइ भएन,” चौधरीले भने, “म आफैँ पनि किसान हुँ। मल खोज्दा कतै पाउन सकिएको छैन।”
जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीका अनुसार दैनिक १५ देखि २० जना किसान मलको माग गर्दै गाउँपालिका कार्यालय आउने गरेका छन्। कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनको धनगढीस्थित कार्यालय धाउँदा पनि मल नपाएको गुनासो किसानहरूले गर्ने गरेको उनले बताए।
अध्यक्ष चौधरीले किसानहरूको संकट समाधान गर्न समयमै मल उपलब्ध गराउन सरकारसँग जोडदार माग गरेका छन्।
कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले पनि समयमै मल उपलब्ध नभए धान उत्पादन घट्ने निश्चित रहेको बताए। माथिल्लो तहका सरकारले समस्या समाधानमा चासो नदिँदा स्थानीय सरकारले किसानहरूको आक्रोश सामना गर्नुपरेको उनको भनाइ छ।
जिम्मेवार अधिकारी एकअर्कालाई देखाउँदै पन्छिए
किसानहरू मल अभावले छटपटाइरहँदा आपूर्ति र वितरणको जिम्मेवारी पाएको कृषि सामग्री कम्पनी लिमिटेडको केन्द्रीय कार्यालयका अधिकारीहरू भने स्पष्ट जवाफ दिनबाट पन्छिएका छन्।
सुदूरपश्चिममा देखिएको मल अभाव र वितरण व्यवस्थापनबारे जानकारी लिन कम्पनीको केन्द्रीय कार्यालयस्थित वितरण व्यवस्थापन महाशाखाका प्रमुख विष्णु केसीलाई सम्पर्क गर्दा उनले आफू कार्यालयबाहिर रहेको भन्दै तत्काल केही भन्न नसक्ने बताए। उनले यसबारे कम्पनीका सूचना अधिकारीसँग जानकारी लिन आग्रह गरे।
तर कम्पनीका सूचना अधिकारी पुण्यप्रसाद उपाध्यायले पनि आफूलाई यस विषयमा जानकारी नभएको भन्दै पुनः वितरण व्यवस्थापन महाशाखाका प्रमुखसँग बुझ्न आग्रह गरे।
कम्पनीका जिम्मेवार अधिकारीहरूले एकअर्कालाई देखाउँदै पन्छिएपछि मल आपूर्ति र वितरण प्रणालीको व्यवस्थापनमाथि प्रश्न उठेको छ।
तथ्याङ्कमा मल, किसानको खेतमा अभाव
मल आपूर्ति गर्ने जिम्मा पाएका दुई सरकारी निकायको स्थानीय तथ्याङ्कमा मल प्राप्त भएको देखिए पनि किसानले आवश्यकताअनुसार मल पाउन सकेका छैनन्।
कृषि सामग्री कम्पनी लिमिटेड धनगढीका अनुसार यस वर्ष सुदूरपश्चिममा २० हजार ४४९ मेट्रिक टन युरिया, १० हजार ८५२ मेट्रिक टन डीएपी र ९०० मेट्रिक टन पोटास प्राप्त भएको छ।
गत वर्ष सोही अवधिमा २० हजार २२६ मेट्रिक टन युरिया, १३ हजार ४१ मेट्रिक टन डीएपी र ६९३ मेट्रिक टन पोटास बिक्री–वितरण भएको कम्पनीका सुदूरपश्चिम प्रमुख नवल बोगटीले जानकारी दिए।
साल्ट ट्रेडिङ कर्पोरेसनका क्षेत्रीय प्रबन्धक तेजबहादुर कुँवरका अनुसार यस वर्ष कर्पोरेसनमार्फत सात हजार ५०१ मेट्रिक टन युरिया, सात हजार ७४६ मेट्रिक टन डीएपी र ८९६ मेट्रिक टन पोटास प्राप्त भएको छ।
गत वर्ष भने छ हजार ६६९ मेट्रिक टन युरिया, ६१२ मेट्रिक टन डीएपी र एक हजार ७० मेट्रिक टन पोटास प्राप्त भएको थियो।
सरकारी तथ्याङ्कमा मल आयात र वितरण भएको देखिए पनि अपर्याप्त आपूर्ति, कमजोर वितरण व्यवस्थापन र भौगोलिक कठिनाइका कारण वास्तविक किसानको खेतसम्म मल पुग्न सकेको छैन।
कृषि सामग्री कम्पनी लिमिटेड धनगढीका प्रमुख बोगटीका अनुसार युरिया मल नौदेखि १० दिनभित्र भैरहवा आइपुग्ने जानकारी प्राप्त भएको छ। तर उक्त मल सुदूरपश्चिममा कहिलेसम्म आइपुग्छ भन्ने निश्चित छैन।
समयमै रासायनिक मल उपलब्ध गराउन संघीय र प्रदेश सरकारले ठोस कदम नचाले यस वर्ष सुदूरपश्चिममा धान उत्पादन घट्नुका साथै खाद्य सुरक्षामै गम्भीर असर पर्न सक्ने किसानहरूले चेतावनी दिएका छन्।
प्रतिक्रिया दिनुहोस