२०८३, कार्तिक १ गते

शनिवार, कार्तिक १ गते २०८३

श्रम शोषणको आरोप लगाउँदै प्रशिक्षार्थी चिकित्सक माइतीघरमा, श्रम ऐन कार्यान्वयन र तलब वृद्धि माग

शनिवार, श्रावण २ २०८३०४:५४

काठमाडौं । विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका प्रशिक्षार्थी चिकित्सक, मेडिकल अधिकृत तथा आवासीय चिकित्सकहरूले आफूहरूमाथि चरम श्रम शोषण भइरहेको आरोप लगाउँदै शनिबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्।

युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषणविरुद्धको संघर्ष समितिको नेतृत्वमा आयोजित प्रदर्शनमा सहभागी चिकित्सकहरूले श्रम ऐन, २०७४ अनुसार कार्यसमय, पारिश्रमिक तथा सेवा–सुविधा सुनिश्चित गर्न सरकारसँग माग गरेका हुन्।

प्रदर्शनकारी चिकित्सकहरूले प्रशिक्षार्थी चिकित्सक (इन्टर्न तथा आवासीय चिकित्सक) को ड्युटी समय श्रम ऐनअनुसार व्यवस्थित गर्नुपर्नेमा जोड दिएका छन्। उनीहरूले दैनिक अधिकतम १२ घण्टा र साप्ताहिक ७२ घण्टाभन्दा बढी काममा नलगाउन तथा हप्तामा एक दिन अनिवार्य बिदाको व्यवस्था कार्यान्वयन गर्न माग गरेका छन्।

त्यस्तै, श्रम ऐनले तोकेको सीमाभन्दा बढी अर्थात् साप्ताहिक ४८ घण्टाभन्दा बढी काम गराइएमा ओभरटाइम भत्ता उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ। चिकित्सकहरूले अस्पतालहरूमा लामो समयसम्म निरन्तर काम गर्नुपर्ने अवस्था रहे पनि त्यसअनुसारको सेवा–सुविधा नपाएको गुनासो गरेका छन्।

उनीहरूले नेपाल सरकारले बजेटमार्फत घोषणा गरेको तलब वृद्धि तत्काल कार्यान्वयन गर्न तथा यसअघि भएका सहमतिअनुसार आवासीय चिकित्सकलाई अधिकृत आठौँ तहसरहको पारिश्रमिक उपलब्ध गराउन पनि माग गरेका छन्।

यस्तै, एमबीबीएस तथा बीडीएस अध्ययन पूरा गरेपछि एमडी, एमएस र एमडीएस अध्ययनका लागि राखिएको एक वर्षे अनिवार्य कार्यअनुभवको व्यवस्था खारेज गर्नुपर्ने मागसमेत प्रदर्शनकारी चिकित्सकहरूले अघि सारेका छन्।

प्रदर्शनका क्रममा सहभागी चिकित्सकहरूले आफ्ना मागहरू शीघ्र सम्बोधन गर्न सरकारसँग आग्रह गर्दै माग पूरा नभएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने चेतावनी दिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij