नेपालका मनोज श्रेष्ठले अस्ट्रेलियामा आयोजित २०२६ साउथ कोस्ट ओपन तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जितेका छन्।
न्यु साउथ वेल्सको बोमाडेरीस्थित शोआलहेभन इन्डोर स्पोर्ट्स सेन्टरमा शनिबार सम्पन्न प्रतियोगितामा उनले पुरुष ब्ल्याक बेल्ट स्पारिङको ६८–७४ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दै कांस्य पदक हात पारेका हुन्।
सोही प्रतियोगितामा नेपालका शिशिर श्रेष्ठले पनि उत्कृष्ट प्रदर्शन गर्दै ट्रेडिसनल पुम्से विधामा स्वर्ण पदक जितेका छन्। अनुभवी खेलाडी शिशिर श्रेष्ठ १३औँ दक्षिण एसियाली खेलकुद (साग) का कांस्य पदक विजेता समेत हुन्।
प्रतियोगितामा मनोज र शिशिर दुवैले खेलाडीका रूपमा मात्र नभई अफिसियल भूमिकामा समेत योगदान दिएका थिए। उनीहरूले स्पारिङतर्फ रेफ्रीको जिम्मेवारी निर्वाह गर्दै खेल सञ्चालनलाई निष्पक्ष र व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेलेका आयोजकहरूले जनाएका छन्।
खेलाडी र रेफ्री दुवै भूमिकामा सक्रिय रहँदा उनीहरूको सहभागिता प्रतियोगिताको प्रमुख आकर्षणमध्ये एक बनेको थियो।
प्रतिक्रिया दिनुहोस