२०८३, कार्तिक १ गते

शनिवार, कार्तिक १ गते २०८३

ओली प्रतिस्पर्धामा रहेको झापा–५ मा चुनावी तनाव, पत्रकार कुटिए

शुक्रवार, फाल्गुण १५ २०८२०६:५१

जनमत कमजोर बनिरहेको विश्लेषणबीच नेकपा एमालेले निर्वाचन क्षेत्र झापा–५ मा अराजकता सुरु गरेका छन्। 

चुनावी अभियानका क्रममा मत माग्दा ‘भोट कसलाई?’ भनेर सोध्दा मतदाताले ‘घन्टी’ भनेपछि एमाले भोलेन्टियर्स फोर्सका सदस्यले ‘माझी औंला’ देखाएर अश्लीलता प्रदर्शन गरेको विषय सतहमा आएको छ।

सोही विषयमा रिपोर्टिङका क्रममा पुगेका पत्रकारलाई बन्धक बनाउने, एकान्तमा लगेर कुटपिट गर्ने समेत गरेका छन्। रिपोर्टिङका क्रममा रहेका बिराटनगरका पत्रकार अर्जुन आचार्यमाथि भोलेन्टियर्सका कार्यकर्ताले निर्घात कुटपिट गरेपछि उनी न्यूरो अस्पतालमा उपचार गराउन बाध्य भए। 

झापा–५ मा एमाले अध्यक्ष तथा जेनजी विद्रोहका कारण अपदस्त भएका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली उम्मेदवार छन्। उनीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन शाह र नेपाली कम्युनिस्ट पार्टीका युवा नेता रञ्जित तामाङ प्रतिस्पर्धामा उत्रिएका छन्।

सोही निर्वाचन क्षेत्रको रिपोर्टिङका लागि पत्रकार आचार्य पुग्दा देखेका दृश्य कैद गर्ने क्रममा आक्रमणको शिकार बनेका थिए। आचार्यले एमालेको उदण्डता र घटनाबारे उल्लेख गर्दै आफ्ना माग समेत सामाजिक सञ्जालमार्फत यसरी बयान गरेका छन्।

प्रेस नोटः चुनावी रिपोर्टिङका क्रममा ममाथि भएको साङ्घातिक आक्रमण र पेसागत सुरक्षाबारे मेरो भनाइ

आदरणीय सञ्चारकर्मी तथा न्यायप्रेमी महानुभावहरू,

रातोपाटी अनलाइन (Rato Pati) को देशव्यापी ‘ग्राउण्ड रिपोर्टिङ’ अभियानका लागि काठमाडौँबाट खटिएको टोलीसहित म (अर्जुन आचार्य, कोशी प्रदेश ब्यूरो प्रमुख) चुनावी सरगर्मी बुझ्न झापा क्षेत्र नं. ५ पुगेको थिएँ। यसैक्रममा बिहीबार (हिंजो) साँझ ५ः०० बजे कमल गाउँपालिका–२, जीवनपुरमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको घरदैलो कार्यक्रमको रिपोर्टिङ गर्ने क्रममा ममाथि भएको साङ्घातिक आक्रमण र दुर्व्यवहारबारे यथार्थ विवरण सार्वजनिक गर्न यो नोट जारी गरेको छु।

घटनाको नालीबेलीः

त्यहाँको चुनावी माहोल र स्थानीयको उत्साह कैद गरिरहँदा एउटा घरका केही महिलाहरू आक्रोशित रूपमा कराइरहेको देखेपछि म वास्तविकता बुझ्न उनीहरूकै छेउमा पुगेँ। ती महिलाहरूका अनुसार, एमाले समर्थकहरूले ‘भोट केमा ?’ भनी नारा लगाउँदा उनीहरूले ‘घण्टीमा’ भनेकै भरमा ‘युथ भोलिन्टियर्स’ का युवाहरूले उनीहरूमाथि झम्टिँदै अश्लील गालीगलौज र अपमानजनक व्यवहार गरेका रहेछन्। सोही दृश्यलाई मैले आफ्नो मोबाइलमा कैद गर्न खोज्दा ४–५ जनाको समूहमा रहेका ती युवाहरूले मलाई नियन्त्रणमा लिए । मोबाइल र चस्मा खोसे र झन्डै ५० मिटर टाढा एकान्तमा लगेर अन्धाधुन्ध कुटपिट गर्न थाले।

मैले आफू रातोपाटीको पत्रकार भएको र चुनावी रिपोर्टिङमा आएको परिचय दिँदादिँदै पनि उनीहरूले ‘जहाँ पनि घण्टी भनेर इरिटेट पारिरहेका बेला तँ भिडियो खिच्ने ?’ भन्दै ममाथि साङ्घातिक प्रहार जारी राखे। मेरो मोबाइल र चस्मा हालसम्म पनि उनीहरूकै नियन्त्रणमा छ भने उनीहरूले मलाई ‘दमक आइज, हिसाब बाँकी छ’ भन्दै धम्की समेत दिएका थिए।

स्वास्थ्य अवस्थाः

असुरक्षाका कारण तत्कालै विराटनगर फर्किएर म न्युरो अस्पतालमा भर्ना भएँ। चिकित्सकका अनुसार टाउको र अनुहारमा चोट देखिएकाले सिटी स्क्यान गर्न सल्लाह दिइएको छ र हाल म डिस्चार्ज भएको छु ।

मेरो माग र प्रतिबद्धताः

१. लोकतन्त्रको आधार स्तम्भ मानिने निर्वाचनको समयमा सत्यतथ्य सूचना सङ्कलनमा खटिएको पत्रकारमाथि भौतिक आक्रमण गर्ने, सामग्री लुट्ने र धम्की दिने ती समूहलाई तत्काल पहिचान गरी कडा कानुनी कारबाही गर्न म नेपाल सरकार र गृह प्रशासनसँग जोडदार माग गर्दछु।

२. कार्यक्षेत्रमा पत्रकारको सुरक्षा र निर्बाध रूपमा स्वतन्त्र पत्रकारिता गर्न पाउने संवैधानिक हकको प्रत्याभूति गराउन म सरकारको ध्यानाकर्षण गराउँदछु।

यस कठिन घडीमा मेरो स्वास्थ्यप्रति चासो राख्नुहुने, ऐक्यबद्धता जनाउने नेपाल पत्रकार महासंघ, प्रेस सेन्टर, प्रेस युनियनलगायतका सम्पूर्ण संघ–संस्था, आदरणीय शुभचिन्तक र सहकर्मी साथीहरूप्रति म हार्दिक कृतज्ञता व्यक्त गर्दछु। यो केवल ममाथिको आक्रमण मात्र नभई स्वतन्त्र प्रेसमाथिको प्रहार हो। यस विरुद्धको कानुनी लडाइँ र स्वतन्त्र पत्रकारिताको मेरो यात्रा अविचलित रूपमा अगाडि बढ्ने कुरा पनि विश्वास दिलाउन चाहन्छु। जाहेरी दिने विषयमा थप छलफल भइरहेको कुरा अवगत गराउँछु ।

धन्यवाद !

अर्जुन आचार्य

(पत्रकार)

सम्पर्कः ९८६२००५९६३ (अस्थायी नम्बर)

मितिः २०८२–११–१५

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij