काठमाडौं । गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
लुम्बिनी विकास कोष ऐन, २०४२ को दफा ८ को उपदफा (१) को खण्ड (ख) बमोजिम उनलाई उपाध्यक्ष पदमा मनोनीत गरिएको मन्त्रालयले जनाएको छ । ऐनअनुसार उपाध्यक्षको पदावधि पाँच वर्षको हुनेछ ।
लामो समयदेखि लुम्बिनी विकास कोषको उपाध्यक्ष पद रिक्त थियो ।
काठमाडौंमा जन्मिएकी आनी छोइङ डोल्मा १३ वर्षको उमेरमा शिवपुरीस्थित नागी गुम्बामा प्रवेश गरेकी थिइन् । बौद्ध मन्त्र तथा धार्मिक संगीतको अध्ययन गरेकी उनले बौद्ध भजन र मन्त्रलाई आधुनिक संगीतमार्फत विश्वभर पुर्याएकी छन् ।
प्रतिक्रिया दिनुहोस