२०८३, कार्तिक २ गते

आइतवार, कार्तिक २ गते २०८३

जलजलाका बाढीपहिरो प्रभावितलाई अस्ट्रेलियाबाट साढे सात लाखभन्दा बढी सहयोग

आइतवार, कार्तिक २ २०८३०१:०८

म्याग्दी । मनसुनजन्य विपद्बाट प्रभावित बनेको पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका प्रवासी नेपालीबाट करिब आठ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ ।

रोजगारी, पेसा, व्यवसाय तथा अध्ययनका सिलसिलामा अस्ट्रेलियामा रहेका जलजला गाउँपालिकाका बासिन्दा आबद्ध पर्वत जलजला ‘नेपाली कम्युनिटी’ले सात लाख ८३ हजार ३५८ रुपैयाँ ५० पैसा सहयोग गरेको हो ।

अस्ट्रेलियामा रहेका विक्रम खत्रीको नेतृत्वमा सङ्कलन गरिएको उक्त रकम जलजला गाउँपालिकाको विपद् कोषमा जम्मा भएको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिए । उनले सहयोगदाताप्रति धन्यवाद व्यक्त गर्दै उक्त रकम विपद्बाट क्षति पुगेका निजी आवास तथा भौतिक पूर्वाधार पुनर्निर्माणमा परिचालन गरिने बताए ।

अध्यक्ष आचार्यका अनुसार बाढीपहिरोबाट जलजलामा १२६ घर पूर्ण र ५० घर आंशिक रूपमा क्षति भएका छन् । थप १४० घर जोखिममा रहेको गाउँपालिकाले जनाएको छ । फर्से, लामाखेत, ताङवाङ, खानीगाउँ र पालसीङ क्षेत्र बढी प्रभावित भएका छन् । तटीय क्षेत्रमा नदी कटान र बाढीको जोखिमसमेत बढेको छ ।

गाउँपालिका उपाध्यक्ष दीपक आचार्यले बाढीपहिरो प्रभावितको पुनर्वास तथा पुनर्निर्माणका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाइएको बताए ।

उनका अनुसार तत्कालका लागि जस्तापाता, भाँडाकुँडा, लत्ताकपडा र खाद्यान्न उपलब्ध गराएर अस्थायी टहरा निर्माण गरी प्रभावितलाई बसोबासको व्यवस्था मिलाउने योजना छ । दीर्घकालीन रूपमा भने सरकारको नीतिअनुसार निजी आवास र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण गरिनेछ ।

निजी आवाससँगै क्षतिग्रस्त सडक, खानेपानी, सिँचाइ तथा विद्यालय भवनको पुनर्निर्माण र जोखिममा रहेका बस्तीको संरक्षण पनि आवश्यक रहेको उपाध्यक्ष आचार्यले बताए ।

बाढीपहिरो नियन्त्रण तथा पुनर्निर्माणका लागि आवश्यक आर्थिक स्रोत जुटाउन संघीय र प्रदेश सरकार, दातृ निकाय तथा अन्य सहयोगदातासँग समन्वय भइरहेको गाउँपालिकाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij