२०८३, कार्तिक २ गते

आइतवार, कार्तिक २ गते २०८३

शिक्षकको मृत्युपछि कटारीमा प्रदर्शन, राजमार्ग अवरुद्ध

आइतवार, कार्तिक २ २०८३०१:०२

उदयपुर । उदयपुरको कटारी नगरपालिका–५ भोर्लेमा हायस गाडीको ठक्करबाट स्थानीय शिक्षक सुमन श्रेष्ठको मृत्यु भएपछि दोषीमाथि कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै स्थानीयवासीले प्रदर्शन गरेका छन् ।

आइतबार स्थानीयवासीले कटारीको बुद्धचोकमा प्रदर्शन गर्दै मदन भण्डारी राजमार्ग अवरुद्ध गरेका हुन् । सडक अवरुद्ध हुँदा काठमाडौँबाट पूर्वतर्फ जाने यात्रुहरू समस्यामा परेका छन् ।

प्रदर्शनकारीले मृतक शिक्षकको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने र दुर्घटनामा संलग्न हायस चालकलाई कानुनी कारबाही गर्नुपर्ने माग राखेका छन् ।

प्रहरीका अनुसार शनिबार राति करिब ११ बजे पूर्वबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६८४४ नम्बरको हायस गाडीले कटारी नगरपालिका–५ भोर्लेमा को १ प ९६६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक स्थानीय भुल्के स्कुलका शिक्षक श्रेष्ठ घाइते भएका थिए ।

घाइते श्रेष्ठलाई उपचारका लागि कटारी प्रादेशिक अस्पताल लगिएको थियो । उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

स्थानीय मधु धमलाका अनुसार घर फर्किँदै गरेका शिक्षक श्रेष्ठ सवार मोटरसाइकललाई हायस गाडीले ठक्कर दिएको थियो ।

इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) उपेन्द्र खरेलले हायस चालकलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

शिक्षकको मृत्युपछि स्थानीयवासीले सडक अवरुद्ध गरेर प्रदर्शन गरेपछि मदन भण्डारी राजमार्गमा यातायात प्रभावित भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij