२०८३, श्रावण ११ गते

सोमवार, श्रावण ११ गते २०८३

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा सञ्चालनमा

नेपालको पूर्वाधार विकासमा नयाँ युगको सुरुवात

सोमवार, श्रावण ११ २०८३१०:५२

काठमाडौं– नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिको को उपस्थितिमा सुरुङमार्ग उद्घाटन गरेका हुन्।

तर उद्घाटन भए पनि सुरुङमार्ग तत्काल सबै प्रकारका सवारीसाधनका लागि खुला गरिने छैन। आयोजनाका उपनिर्देशक सञ्जय पन्थीका अनुसार, प्रारम्भिक चरणमा एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारीसाधन तथा अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्र सञ्चालन अनुमति दिइनेछ।

आयोजनाले करिब तीन महिनासम्म परीक्षण सञ्चालन अवधि (ट्रायल ओपनिङ पिरियड) राख्ने जनाएको छ। यस अवधिमा सुरुङभित्रको सुरक्षा व्यवस्था, ट्राफिक व्यवस्थापन र सञ्चालन प्रणालीको मूल्यांकन गरिनेछ। परीक्षण सफल भएपछि अन्य निजी तथा सार्वजनिक सवारीसाधनलाई चरणबद्ध रूपमा प्रवेश दिइनेछ।

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग नेपालको यातायात इतिहासमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। निर्माण सुरु भएको करिब ८० महिनापछि यो आयोजना सञ्चालनमा आएको हो।

यस आयोजनाको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए भने मुख्य सुरुङको ब्रेकथ्रु अर्का प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यकालमा भएको थियो। अहिले प्रधानमन्त्री बालेनको कार्यकालमा यसको औपचारिक उद्घाटन गरिएको हो।

नियमित सञ्चालनपछि लाग्ने शुल्क

परीक्षण अवधिमा सुरुङ प्रयोग गर्ने सवारीसाधनबाट कुनै शुल्क लिइने छैन। तर नियमित सञ्चालन सुरु भएपछि सवारीको प्रकारअनुसार शुल्क निर्धारण गरिएको छ।

  • कार तथा भ्यान:
    • काठमाडौं प्रवेश गर्दा: रु. ६५
    • काठमाडौं बाहिरिँदा: रु. ६०
  • मिनीबस, ट्रक तथा टिपर:
    • काठमाडौं प्रवेश गर्दा: रु. ११५
    • बाहिरिँदा: रु. ८०
  • बस तथा ठूला ट्रक:
    • काठमाडौं प्रवेश गर्दा: रु. २६०
    • बाहिरिँदा: रु. २००

यसअघि मन्त्रिपरिषद्ले सवारीको प्रकारअनुसार ६० रुपैयाँदेखि ६०० रुपैयाँसम्म शुल्क निर्धारण गर्ने निर्णय गरिसकेको छ।

कुन सवारीलाई प्रवेश निषेध?

सुरुङमार्गमा सुरक्षाका कारण:

  • पैदलयात्री
  • मोटरसाइकल तथा स्कुटर
  • तीनपाङ्ग्रे सवारीसाधन
  • पेट्रोल, डिजेल, ग्यासजस्ता प्रज्ज्वलनशील पदार्थ बोकेका सवारी
  • विस्फोटक सामग्री बोकेका सवारी लाई प्रवेश अनुमति दिइने छैन।

यो सुरुङमार्ग काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ दहचोक टोटीपाखाबाट सुरु भई धादिङको धुनिबेँसी नगरपालिका–स्थित सिस्नेखोलामा पुगेर टुंगिन्छ।

हालको नागढुङ्गा सडकखण्डमा हुने लामो जाम, उकालो र घुमाउरो बाटोको समस्या समाधान गर्दै यसले यात्राको समय करिब एक घण्टासम्म घटाउने अपेक्षा गरिएको छ।

आयोजना निर्माणमा नेपाल सरकार र जापान सरकारको सहुलियतपूर्ण ऋणमार्फत करिब २५ अर्ब रुपैयाँ खर्च भएको छ।

खर्च विवरणअनुसार:

  • निर्माण कार्यमा करिब १७ अर्ब रुपैयाँ
  • विनिमय दर तथा निर्माण सामग्री मूल्य वृद्धिबाट करिब २ अर्ब रुपैयाँ
  • जग्गा अधिग्रहण तथा मुआब्जामा करिब ६ अर्ब रुपैयाँ

खर्च भएको आयोजनाले जनाएको छ। आयोजनाका लागि करिब ४८० रोपनी जग्गा अधिग्रहण गरिएको थियो।

सुरुङमार्ग निर्माण ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर कोभिड–१९ महामारी, प्राविधिक समस्या तथा अन्य चुनौतीका कारण आयोजना निर्धारित समयभन्दा ढिलो सम्पन्न भएको हो।

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनसँगै नेपालको सडक पूर्वाधार क्षेत्रमा नयाँ अध्याय सुरु भएको छ। यो आयोजना केवल यातायात सहज बनाउने संरचना मात्र नभई आधुनिक प्रविधि, अन्तर्राष्ट्रिय सहकार्य र नेपालको पूर्वाधार विकास क्षमताको महत्वपूर्ण उदाहरणका रूपमा हेरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij