२०८३, कार्तिक २ गते

आइतवार, कार्तिक २ गते २०८३

कोरियोग्राफर सन्दीप भुजेल ‘राष्ट्रिय नृत्य कोरियोग्राफी सम्मान’बाट सम्मानित

शुक्रवार, माघ २ २०८२०८:३६

काठमाडौं । १४औँ Nepal Africa International Film Festival (NAIFF) को उद्घाटन समारोहको अवसरमा चर्चित नृत्य निर्देशक तथा कोरियोग्राफर सन्दीप भुजेल ‘राष्ट्रिय नृत्य कोरियोग्राफी सम्मान’बाट सम्मानित हुनुभएको छ। उक्त सम्मान आज चलचित्र विकास बोर्डको हलमा आयोजित विशेष समारोहबीच चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीको करकमलबाट प्रदान गरिएको हो।

नेपाली नृत्य तथा कोरियोग्राफी क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएका भुजेलले नेपाली मौलिक नृत्यशैलीलाई आधुनिक प्रस्तुतिसँग जोड्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्न पुर्‍याएको उल्लेखनीय योगदानको कदरस्वरूप उहाँलाई यो सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ। आयोजकका अनुसार, नेपाली कला र संस्कृतिको विश्वव्यापी पहिचान निर्माणमा भुजेलको सिर्जनात्मक भूमिका प्रेरणादायी रहेको छ।

सन्दीप भुजेल नेपाली चलचित्र, म्युजिक भिडियो, स्टेज शो तथा अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रममा कोरियोग्राफर र नृत्य निर्देशकका रूपमा परिचित नाम हुनुहुन्छ। उहाँले दर्जनौँ चलचित्र र सयौँ म्युजिक भिडियोमा कोरियोग्राफी गर्दै नेपाली नृत्यलाई समकालीन शैलीमा प्रस्तुत गर्न महत्वपूर्ण योगदान दिनुभएको छ। परम्परागत लोकनृत्यदेखि आधुनिक फ्युजनसम्मको सफल प्रयोगमार्फत उहाँले नयाँ पुस्तालाई नृत्यप्रति आकर्षित गर्न विशेष भूमिका खेल्दै आउनुभएको छ।

सम्मान ग्रहणपछि प्रतिक्रिया दिँदै कोरियोग्राफर भुजेलले यस सम्मानलाई आफ्नो निरन्तर मेहनत, समर्पण र लामो यात्राको औपचारिक मान्यता भएको बताउनुभयो। “यो सम्मानले आगामी दिनहरूमा अझ जिम्मेवार भएर नेपाली नृत्य र कोरियोग्राफीको क्षेत्रमा थप योगदान पुर्‍याउने प्रेरणा दिएको छ,” उहाँले भन्नुभयो।

यस अवसरमा उहाँले सम्पूर्ण आयोजक टिमप्रति आभार व्यक्त गर्दै निरन्तर साथ, विश्वास र प्रेरणाका लागि विशेष धन्यवाद ज्ञापन गर्नुभयो।

फेस्टिभलको उद्घाटन समारोहमा चलचित्रकर्मी, कलाकार, संस्कृतिकर्मी तथा विभिन्न क्षेत्रका विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नेपाली कला र संस्कृतिको प्रवर्द्धनमा केन्द्रित यस्ता अन्तर्राष्ट्रिय कार्यक्रम तथा सम्मानहरूले सिर्जनशील कलाकारलाई मात्र होइन, नयाँ पुस्तालाई पनि प्रेरणा दिने विश्वास आयोजक पक्षले व्यक्त गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij