काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको टरिगाउँ र मुगुको रारा विमानस्थलको विकास तथा विस्तारसम्बन्धी अध्ययन प्रक्रिया अघि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन दिएका छन्।
दुवै विमानस्थलको हालै निरीक्षण तथा अवलोकन भ्रमण गरेका मन्त्री पौडेलले बिहीबार मन्त्रालयमा क्यानका पदाधिकारीसँग छलफल गर्दै आवश्यक अध्ययन प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन्।
क्यानका अनुसार मन्त्री पौडेलको नेतृत्वमा प्राधिकरण तथा नागरिक उड्डयन क्षेत्रसँग सम्बन्धित पदाधिकारीहरूको टोलीले गत असोज २१ देखि २६ गतेसम्म नेपालगञ्ज, दाङ, रारा र जुम्ला विमानस्थलको निरीक्षण तथा अवलोकन भ्रमण गरेको थियो।
भ्रमणका क्रममा विमानस्थलहरूको दीर्घकालीन विकास तथा विस्तारका लागि आवश्यक पूर्वाधार, प्राविधिक सम्भाव्यता, सञ्चालन क्षमता अभिवृद्धि र सेवा प्रभावकारी बनाउने उपायबारे विस्तृत अध्ययन गर्न निर्देशन दिइएको हो।
क्यानका महानिर्देशक मुकेश डङ्गोलका अनुसार दाङको टरिगाउँ विमानस्थलको विकास तथा विस्तारका सम्भावनाबारे अध्ययन गरी हवाई यातायात सेवालाई थप सुलभ, सहज र प्रभावकारी बनाउने लक्ष्य राखिएको छ। यसबाट पर्यटन प्रवर्द्धन तथा क्षेत्रीय विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
त्यसैगरी, रारा विमानस्थलको स्तरोन्नति तथा विस्तार गर्न सकिने सम्भावनाबारे पनि अध्ययन गरिने महानिर्देशक डङ्गोलले बताए। उनका अनुसार आवश्यकताअनुसार वैकल्पिक स्थानमा नयाँ विमानस्थल निर्माण गर्न सकिने सम्भावनाबारे समेत प्राविधिक तथा सम्भाव्यता अध्ययन गर्न मन्त्री पौडेलले निर्देशन दिएका छन्।
दुवै विमानस्थलको विकासका लागि आवश्यक प्राविधिक अध्ययन, सम्भाव्यता विश्लेषण, पूर्वाधारको आवश्यकता पहिचान तथा आगामी कार्ययोजना निर्माणलाई प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिइएको छ।
विमानस्थलहरूको विकास तथा विस्तार प्रक्रिया अघि बढेमा हवाई यातायातको पहुँच विस्तार हुनुका साथै पर्यटन प्रवर्द्धन र सम्बन्धित क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस