काठमाडौं । सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि एक हजार ९८ जनाले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार ७१ देशका आरोहीले ४१ हिमाल आरोहणका लागि अनुमति लिएका हुन्।
विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार आरोहण अनुमति लिनेमा ८३३ पुरुष र २६५ महिला छन्। उनीहरू १३० टोलीमा आबद्ध छन्। आरोहण अनुमति जारी गरेबापत विभागले २८ करोड २४ लाख १४ हजार ५६ रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ।
आरोहण अनुमति जारी गरिएका हिमालमध्ये सबैभन्दा धेरै आरोहीले मनास्लु (८ हजार १६३ मिटर) चढ्न अनुमति लिएका छन्। मनास्लु आरोहणका लागि ४३ टोलीका ५०० जनाले अनुमति लिएका छन्। तीमध्ये ३७३ पुरुष र १२७ महिला छन्। मनास्लुबाट मात्रै विभागले २२ करोड ५८ लाख ५७ हजार १८९ रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ।
त्यस्तै, धौलागिरि–१ आरोहणका लागि छ टोलीका ३७ जनाले अनुमति लिएका छन्। उनीहरूबाट विभागले ८४ लाख ७३ हजार ६५० रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ।
मकालु हिमाल आरोहणका लागि एक टोलीका तीन जनाले अनुमति लिएका छन्। उनीहरूबाट छ लाख ८८ हजार ५० रुपैयाँ राजस्व सङ्कलन भएको विभागले जनाएको छ।
यसैगरी, हिम्लुङ हिमाल आरोहणका लागि नौ टोलीका ९४ जनाले अनुमति लिएका छन्। उक्त हिमालबाट ५७ लाख ८८ हजार ९६० रुपैयाँ रोयल्टी सङ्कलन भएको छ।
आमादब्लम हिमाल आरोहणका लागि १६ टोलीका १७८ जनाले अनुमति लिएका छन्। उनीहरूबाट विभागले दुई करोड ७३ लाख १५ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
विभागका अनुसार पुथा हिउँचुली, डाङ्गा हिउँचुली, बरुणत्से, गङ्गापूर्णा पश्चिम (लाङचेनेल), थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक (धाम्पुस), पोखर खाङ, अर्दाङ र पेरीलगायत हिमाल आरोहणका लागि पनि अनुमति जारी गरिएको छ।
आरोहण अनुमति लिने विदेशी आरोहीमध्ये सबैभन्दा धेरै चीनका १३२ जना छन्। त्यसपछि रसियाका ९६, अमेरिकाका ९४, फ्रान्सका ९३ र बेलायतका ७४ जना छन्। यस्तै, पोल्यान्डका २९, नेपालका २६, स्विट्जरल्यान्डका २८, स्पेनका २१, भारतका २२, इटालीका २८ र जापानका २८ जनाले अनुमति लिएका छन्।
विभागले आरोहण अनुमतिबाट १८ लाख ५४ हजार ९५९ अमेरिकी डलर अर्थात् २८ करोड २४ लाख १४ हजार ५६ रुपैयाँ रोयल्टी सङ्कलन गरेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस