काठमाडौं । नेपालीको महान् चाड बडादसैँ मनाउन घटस्थापनादेखि हालसम्म २ लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका छन्। दसैँ नजिकिँदै जाँदा घर फर्किने यात्रुको चाप उपत्यकाका प्रमुख नाका तथा बसपार्कमा बढ्दै गएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार घटस्थापनादेखि हालसम्म ३७ हजार ९६४ वटा सवारीसाधनमार्फत उक्त संख्यामा यात्रु उपत्यकाबाट बाहिरिएका हुन्।
उपत्यका छाड्ने यात्रुमध्ये १ लाख १५ हजार ८६ जना महिला र १ लाख ६१ हजार १६७ जना पुरुष रहेका छन्। अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा काठमाडौंमा बसोबास गर्दै आएका नागरिक दसैँ मनाउन आफ्नो जन्मथलो फर्किन थालेपछि लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढेको हो।
उपत्यका छाड्ने यात्रुको संख्या बढेसँगै प्रमुख नाकामा सवारीसाधनको आवागमन पनि बाक्लिएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुंगा, फर्पिङ, थानकोट, भीमढुंगा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडालगायतका नाकाबाट यात्रु बाहिरिने क्रम जारी छ।
यात्रुको चाप बढ्दै गएपछि सवारी आवागमन व्यवस्थापन तथा सुरक्षित यात्राका लागि ट्राफिक प्रहरीले निगरानी बढाएको छ। चाडपर्वका समयमा सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने भएकाले यात्रुलाई सहज र सुरक्षित यात्रा गराउन प्रहरी तथा यातायात व्यवसायीले आवश्यक व्यवस्था मिलाएको जनाएका छन्।
ट्राफिक प्रहरी प्रमुख काफ्लेले दसैँ, तिहारलगायत चाडपर्वका समयमा यात्रुको सुरक्षा सुनिश्चित गर्न र सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी चौबीसै घण्टा सडकमा खटिएको बताए।
उनका अनुसार यात्रुको आवागमन सहज बनाउने, सवारीसाधनको चाप व्यवस्थापन गर्ने र सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडकमा निगरानी बढाइएको छ।
“यात्रुको सुरक्षा र सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी चौबीसै घण्टा सडकमा खटिएको छ। हाम्रो उद्देश्य सबैको यात्रा सफल र सुरक्षित होस् भन्ने हो,” उनले भने।
काफ्लेले चाडपर्वका समयमा लामो दूरीको यात्रा गर्ने यात्रुलाई सवारीसाधनको अवस्था, चालकको स्वास्थ्य र सवारी चलाउने समयजस्ता विषयमा विशेष ध्यान दिन आग्रह गरे। यात्रु तथा चालक दुवैले सावधानी अपनाए सम्भावित दुर्घटना न्यूनीकरण गर्न सकिने उनको भनाइ छ।
यातायात व्यवस्था विभागका अनुसार नागढुंगा–नौबिसे सडकखण्ड, मुग्लिन–नारायणगढ सडक, कान्ति लोकपथ र बीपी राजमार्गलगायतका प्रमुख सडकमा दुवैतर्फ यातायात सञ्चालन भइरहेको छ।
दसैँ नजिकिँदै जाँदा उपत्यकाबाट बाहिरिने यात्रुको संख्या अझै बढ्न सक्ने भएकाले यात्रु व्यवस्थापन, सवारीसाधनको अवस्था जाँच र सडक सुरक्षामा सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने देखिएको छ।
प्रतिक्रिया दिनुहोस