२०८३, आश्विन ३० गते

शुक्रवार, आश्विन ३० गते २०८३

बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट १ हजार ४४ जनाको हेलिकोप्टरबाट उद्धार

बिहिवार, आश्विन २९ २०८३११:१०

गोरखा । बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रबाट एक हजारभन्दा बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । आइतबारदेखि बिहीबारसम्म एक हजार ४४ जनाको उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिएका छन् ।

उद्धार गरिएकामध्ये ७० जना विदेशी नागरिक रहेका छन् । बाढीले उत्तरी गोरखा जाने पदमार्ग तथा पुलमा क्षति पुर्‍याएपछि त्यस क्षेत्रमा रहेका नागरिक आवतजावत गर्न नसकी फसेका थिए । उनीहरूको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको शर्माले बताए ।

उनका अनुसार बाढी आएको पहिलो दिन आइतबार ९६ जनाको उद्धार गरिएको थियो । सोमबार ३२१, मङ्गलबार १८६ र बुधबार ४४१ जनाको उद्धार गरिएको थियो ।

उद्धारसँगै प्रभावित क्षेत्रमा राहत वितरणको काम पनि तीव्र पारिएको छ । सडक तथा पदमार्गमा क्षति पुगेपछि राहत सामग्री पुर्‍याउन हेलिकोप्टरको प्रयोग भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

सरकार तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा खाद्यान्न, टेन्ट, म्याट, सिरानी, सिरक, त्रिपाल, सोलार र जेनेरेटरलगायत सामग्री प्रभावित क्षेत्रमा वितरण भइरहेको छ ।

“राहत वितरण गर्नका लागि पनि हेलिकोप्टरकै प्रयोग भइरहेको छ । यताबाट उद्धार गर्न जाने हेलिकोप्टरले राहतका सामग्री लाने र उताबाट आउँदा मानिसलाई उद्धार गरेर ल्याउने गरेको छ”, शर्माले भने ।

यसैबीच, नेपाल रेडक्रस सोसाइटीले बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा प्रतिकार्यलाई तीव्रता दिएको छ ।

रेडक्रसका महामन्त्री ऋषि खनालले बाढीबाट भएको क्षतिको आकलन गर्न तथा तत्काल राहत पुर्‍याउन स्वयंसेवक परिचालन गरिएको जानकारी दिए । उनका अनुसार बाढीको सूचना प्राप्त हुनासाथ गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपुर पूर्व र नवलपुर पश्चिमका स्वयंसेवक परिचालन गरी पूर्वसूचना प्रवाह गरिएको थियो ।

बाढी प्रभावित क्षेत्रमा गैरखाद्य सामग्रीसहित आवश्यक राहत सामग्री पठाउने काम जारी रहेको रेडक्रसले जनाएको छ ।

महामन्त्री खनालका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाली सेनासँगको समन्वयमा त्रिपाल, म्याट्रेस, ब्ल्याङ्केट तथा व्यक्तिगत मर्यादासम्बन्धी सामग्री (डिग्निटी किट) प्रभावित क्षेत्रमा पुर्‍याइएको छ । अस्पताल सञ्चालन गर्न सकिने दुईवटा ठूला टेन्टसमेत प्रभावित क्षेत्रमा पठाइएको उनले बताए ।

रेडक्रसले बाढीबाट भएको क्षतिको अध्ययन गर्न विज्ञ जनशक्ति प्रभावित क्षेत्रमा परिचालन गरिसकेको जनाएको छ । थप आवश्यक गैरखाद्य सामग्री सरकारसँगको समन्वयमा पठाउने तयारीसमेत भइरहेको महामन्त्री खनालले जानकारी दिए ।

बाढीले सडक, पुल तथा पदमार्गमा क्षति पुर्‍याएपछि प्रभावित नागरिकको उद्धार र राहत वितरण चुनौतीपूर्ण बनेको छ । यस्तो अवस्थामा नेपाली सेना, सरकारी निकाय तथा विभिन्न सङ्घसंस्थाको समन्वयमा उद्धार र राहत कार्य जारी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij