२०८३, आश्विन ३० गते

शुक्रवार, आश्विन ३० गते २०८३

भूकम्पीय जोखिम व्यवस्थापनका लागि नेपाल र विश्व बैंकबीच विपद् बन्ड विकास गर्ने साझेदारी

बिहिवार, आश्विन २९ २०८३१०:२२

काठमाडौं । भूकम्पबाट हुन सक्ने क्षति तथा नोक्सानीको व्यवस्थापनका लागि तत्काल वित्तीय स्रोत जुटाउने उद्देश्यले नेपाल सरकार र विश्व बैंक समूहबीच विपद् बन्ड विकास गर्ने सम्बन्धमा साझेदारी घोषणा भएको छ ।

यसका लागि नेपाल सरकार र विश्व बैंकअन्तर्गतको पुनर्निर्माण तथा विकासका लागि अन्तर्राष्ट्रिय बैंकबीच कार्यादेश सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौताले भूकम्पीय जोखिम सम्बोधन गर्न पुँजी बजारको उपयोग गर्दै आवश्यक वित्तीय स्रोत जुटाउने सम्भावनाको अध्ययन गर्ने बाटो खोलेको छ । सम्झौताअनुसार विश्व बैंक समूहको कोष व्यवस्थापनसम्बन्धी निकायले नेपाल सरकार र पुँजी बजारका लगानीकर्तासँग सहकार्य गरी विपद् बन्डको वित्तीय सम्भाव्यता तथा सम्भावित संरचनाबारे अध्ययन गर्नेछ ।

अध्ययनबाट यस्तो बन्ड विकास तथा जारी गर्न सकिने सम्भावनाको मूल्याङ्कन गरिनेछ । यद्यपि, बन्ड जारी हुने वा त्यसबाट कति रकम जुट्ने भन्ने विषय अध्ययनपछि मात्र तय हुनेछ ।

विपद् बन्ड प्राकृतिक प्रकोपबाट उत्पन्न आर्थिक जोखिम व्यवस्थापन गर्न प्रयोग गरिने वित्तीय साधन हो । यसमार्फत विपद्को जोखिम लगानीकर्तातर्फ हस्तान्तरण गर्न सकिन्छ । बन्डमा निर्धारित सूचक वा सर्त पूरा भएमा त्यसबाट प्राप्त रकम प्रभावित देशलाई उपलब्ध गराउन सकिने व्यवस्था हुन्छ ।

प्राकृतिक विपद्को उच्च जोखिममा रहेको नेपालले जोखिम न्यूनीकरण, पूर्वतयारी तथा वित्तीय सुरक्षाका उपायलाई एकीकृत गर्दै विपद्को सामना गर्ने क्षमता बढाउने प्रयास गर्दै आएको छ । विपद् बन्डको सम्भावित विकासले विपद्पछि राहत, उद्धार तथा पुनर्निर्माणका लागि आवश्यक वित्तीय स्रोत जुटाउने वैकल्पिक माध्यम उपलब्ध गराउन सक्ने अपेक्षा गरिएको छ ।

यो पहल विश्व बैंक समूहको स्थापित विपद् बन्ड कार्यक्रमअन्तर्गत अघि बढाइएको हो । उक्त कार्यक्रमले विभिन्न देशलाई प्राकृतिक विपद्बाट उत्पन्न जोखिम व्यवस्थापन गर्न तथा वित्तीय सुरक्षा सुनिश्चित गर्न अन्तर्राष्ट्रिय पुँजी बजारमा पहुँच स्थापित गर्न सहयोग गर्दै आएको छ ।

नेपाल र विश्व बैंकबीच भएको सम्झौता विपद् जोखिम वित्तीय व्यवस्थापनका लागि नयाँ उपायको सम्भाव्यता अध्ययन गर्ने प्रारम्भिक कदम हो । आगामी अध्ययनबाट बन्डको संरचना, जारी गर्ने सम्भावना र त्यसबाट जुट्न सक्ने वित्तीय स्रोतको मूल्याङ्कन गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij