काठमाडौं । नेपालमा ह्विलचेयर रग्बी खेलको विकास तथा खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले पहिलोपटक अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
ह्विलचेयर रग्बी संघ नेपालको आयोजना तथा बीआईए इन्स्टिच्युट र नेपाल रग्बी संघको सहकार्यमा मंगलबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा ‘ह्विलचेयर रग्बी विकास प्रशिक्षण २०२६’ सुरु भएको हो ।
तीन दिनसम्म सञ्चालन हुने प्रशिक्षणमा नेपालका १४ खेलाडी सहभागी छन् । प्रशिक्षण हरेक दिन दिउँसो २ बजेदेखि ५ बजेसम्म सञ्चालन हुनेछ ।
प्रशिक्षणका लागि अमेरिकी ह्विलचेयर रग्बी प्रशिक्षक माइकल स्टिभ केयरलीको नेतृत्वमा पाँच सदस्यीय टोली नेपाल आएको छ । टोलीमा मेरुदण्डको चोट पुनःस्थापनासम्बन्धी विशेषज्ञ डा. जेफ्री क्रेग बर्लिनर र अमेरिकी ह्विलचेयर रग्बी खेलाडी लोगन डिन फुलर पनि सहभागी छन् ।
प्रशिक्षणमा नेपालका कृष्ण थापा र श्रीराम श्रेष्ठ प्रशिक्षकका रूपमा सहभागी छन् । त्यस्तै, अन्तर्राष्ट्रिय रेफ्री प्रेम कोइरालाको पनि सहभागिता रहेको छ । कार्यक्रमका लागि नेपाल रग्बी संघले प्रशिक्षक तथा रेफ्री व्यवस्थापनमा सहयोग गरेको आयोजकले जनाएको छ ।
प्रशिक्षणमा ह्विलचेयर सञ्चालन, खेल कौशल, रणनीति, शारीरिक क्षमता विकास, चोटपटक रोकथाम तथा स्वास्थ्य र पुनःस्थापनासम्बन्धी विषयमा प्रशिक्षण दिइनेछ ।
नेपालमा ह्विलचेयर रग्बीको आधार बलियो बनाउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले खेलाडीको सीप र क्षमता विकास गर्नुका साथै नेपाली खेलाडीलाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर सिर्जना गर्न सहयोग पुग्ने आयोजकको अपेक्षा छ ।
प्रतिक्रिया दिनुहोस