२०८३, आश्विन ३० गते

शुक्रवार, आश्विन ३० गते २०८३

दसैँको रौनकभन्दा धान भित्र्याउने चिन्ता, वर्षाको डरले बाँकेका किसानलाई चटारो

मंगलवार, आश्विन २७ २०८३१२:५८

बाँके । चारैतिर दसैँको रौनक छाएको छ। कोही रातो टीका र जमराको तयारीमा छन् त कोही आफन्तसँग खुसी साटासाट गर्न किनमेल र घर सजाउन व्यस्त छन्। तर बाँकेका किसानलाई भने दसैँको उल्लासभन्दा खेतमा पाकेर पहेँलपुर झुलेको धान सुरक्षित रूपमा भित्र्याउने चिन्ताले सताएको छ।

नेपालगन्ज उपमहानगरपालिका–१९ सुइयागाउँका किसान ध्रुव थापालाई यतिबेला वर्षभरि खाने अन्न जोगाउने हतारो छ। असारमा हिलोसँगै बगाएको पसिना खेतभरि धानका रूपमा झुले पनि वर्षाले बाली नष्ट गर्ने हो कि भन्ने चिन्ता उनलाई छ।

“असारे हिलोमा बगाएको पसिना यतिबेला खेतभरि पहेँलपुर झुलेको छ, त्यसैले दसैँको टीका थाप्नेभन्दा पनि खेतको धान थन्क्याउने हतारो छ”, थापाले भने, “यदि अहिल्यै धान भित्र्याउन सकिएन भने ठूलो क्षति हुन्छ। त्यसैले हाम्रा लागि यतिबेला दसैँको रौनकभन्दा धान भित्र्याउने चटारोले छोएको छ।”

गत असारमा रोपिएको धान पाकेर खेतमा झुलेको छ। वर्षा भए बालीमा ठूलो क्षति पुग्न सक्ने भएकाले किसानलाई दसैँ मनाउनुभन्दा धान काट्ने र भित्र्याउने हतारो छ। गत साता परेको ठूलो वर्षाका कारण धान भित्र्याउन नसकिएको थापाले बताए। केही दिनदेखि पानी रोकिएपछि भने खेताला लगाएर धान काट्ने र घर भित्र्याउने काममा उनी जुटेका छन्।

विगतका वर्षमा प्रायः दसैँ सकिएपछि धान भित्र्याउने समय आउँथ्यो। तर, यस वर्ष दसैँको समय र धान पाक्ने अवधि एकैपटक जुध्दा किसानलाई दोहोरो चटारो परेको छ।

राप्ती सोनारी गाउँपालिका–५ का किसान अशोक वलीका अनुसार यसपालि गाउँघरमा दसैँको उल्लासभन्दा खेतबारीको कामको व्यस्तता बढी देखिएको छ।

“अहिले त धान काट्ने बेलामै ठूलो वर्षा भयो। केही दिनदेखि पानी रोकिएकाले धेरै किसान धान काट्न र भित्र्याउनमै व्यस्त छौँ”, वलीले भने, “एकातर्फ धान भित्र्याउनु छ, अर्कातर्फ बारीमा गहुँ छर्ने समय भइसकेको छ। एकैपटक धेरै काम थपिएकाले यसपालिको दसैँ अघिल्ला वर्षजस्तो फुर्सदिलो र रमाइलो हुने छाँट छैन।”

वर्षाका कारण धान काट्ने तयारी रोकिएका किसान अहिले एकअर्कालाई सघाउँदै अर्मपर्म गरेर बाली भित्र्याउन जुटेका छन्। राप्ती सोनारी गाउँपालिका–३ का वडाध्यक्ष मीनकुमार चौधरीका अनुसार यस वर्ष समयमै मनसुन सुरु भएकाले बाँकेमा धान उत्पादन राम्रो भएको छ। खेतमा झुलेका धानका बालाले राम्रो उत्पादनको सङ्केत गरे पनि अनपेक्षित वर्षाको जोखिम भने कायम छ।

“आकाशमा अलिकतिमात्रै बादल मडारिँदा पनि किसानको धड्कन बढ्ने गर्छ। मिहिनेतअनुसार धान राम्रो त भएको छ, तर समयमै घर भित्र्याउन नसके असिनापानीले नोक्सान पुर्‍याउन सक्छ”, चौधरीले भने, “बाँकेका किसान यतिबेला दसैँको रमझमभन्दा माथि उठेर धान भित्र्याउन लागेका छन्। किसानलाई धानखेती सुरक्षित घर भित्र्याउन पाउनु नै यसपालिको सबैभन्दा ठूलो दसैँ र खुसी हुनेछ।”

कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी तथा वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले पनि पाकेर स्याहार्ने बेलामा पानी पर्ने जोखिमका कारण किसान धमाधम धान भित्र्याउन लागेको बताइन्।

उनका अनुसार बाँके जिल्लामा कुल ५४ हजार ५२६ हेक्टर खेतीयोग्य जमिनमध्ये ३३ हजार ५७० हेक्टरमा धान रोपाइँ हुने गरेको छ। यस वर्ष भने ३३ हजार ५०३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ।

वर्षभरि परिवारको छाक टार्ने अन्न सुरक्षित राख्ने चिन्ता, पाकेको धान भित्र्याउने हतारो र गहुँ छर्ने समयको दबाबबीच बाँकेका किसानको यसपालिको दसैँ बितिरहेको छ। उनीहरूका लागि अहिले दसैँको वास्तविक खुसी भनेकै खेतमा पाकेको धान सुरक्षित रूपमा घरको भकारीमा भित्र्याउनु बनेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij