काठमाडौँ । नेपालमै पहिलोपटक आनुवंशिक इन्जिनियरिङ प्रविधिबाट परिमार्जित कोषिका प्रयोग गरी एक क्यान्सर बिरामीको उपचार गरिएको छ। विज्ञहरूले यसलाई नेपालमा आधुनिक क्यान्सर उपचार सेवा विस्तार गर्ने दिशामा महत्त्वपूर्ण उपलब्धि मानेका छन्।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत २० वर्षीया महिलालाई कार–टी सेल थेरापी दिइएको हो। ती महिला एक्युट लिम्फोब्लास्टिक ल्युकेमिया अर्थात् रक्त क्यान्सरबाट पीडित थिइन्। उनको शरीरबाट निकालिएको टी–कोषिकालाई काठमाडौँस्थित सेन्टर फर रिजेनेरेटिभ मेडिसिन नेपाल (सीआरएम नेपाल) ले आनुवंशिक रूपमा परिमार्जन गरी पुनः शरीरमा प्रवेश गराएको थियो।
त्रिवि शिक्षण अस्पतालका प्रमुख अनुसन्धानकर्ता डा. अञ्जन श्रेष्ठको नेतृत्वमा चिकित्सकीय टोलीले उपचार गरेको हो। उपचारपछि बिरामीको अवस्था स्थिर रहेको र स्वास्थ्यमा देखिने परिवर्तन तथा उपचारको प्रभावकारिताबारे निरन्तर निगरानी भइरहेको डा. श्रेष्ठले जानकारी दिए।
कार–टी सेल थेरापीमा बिरामीकै प्रतिरक्षा प्रणालीको महत्त्वपूर्ण हिस्सा टी–कोषिका निकालेर आनुवंशिक रूपमा परिमार्जन गरिन्छ। त्यसपछि ती कोषिकालाई प्रयोगशालामा वृद्धि गरी पुनः बिरामीको शरीरमा प्रवेश गराइन्छ। परिमार्जित कोषिकाले क्यान्सरका कोषिका पहिचान गरी तिनलाई नष्ट गर्न मद्दत गर्छन्।
सीआरएम नेपालले विकास गरेको यो उपचार विधिले रक्त क्यान्सरका कोषिकामा पाइने सीडी१९ नामक प्रोटिनलाई लक्षित गर्छ। यसको अनुसन्धान सन् २०२२ मा प्रारम्भिक चरणबाट सुरु भएको थियो। सन् २०२५ मा उत्पादन केन्द्र स्थापना र जनशक्ति तालिमको काम अघि बढाइएको थियो। सन् २०२६ को मार्चमा औषधि व्यवस्था विभागले उक्त उत्पादनलाई चिकित्सकीय परीक्षणका लागि स्वीकृति दिएको बताइएको छ।
अमेरिकामा कार्यरत नेपाली प्रतिरक्षा प्रणाली विशेषज्ञ डा. सञ्जीवन गौतमले यस पहललाई नेपालमै उन्नत क्यान्सर उपचार विकास गर्ने दिशामा महत्त्वपूर्ण उपलब्धि बताएका छन्। सीआरएम नेपालको प्रयोगशालामा उत्पादित कार–टी कोषिकाले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको बताइएको छ।
भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका पूर्वनिर्देशक तथा रेडिएसन अन्कोलोजिस्ट डा. शिवाजी पौडेलले नेपालमा यस्तो उपचार सेवा सुरु हुनु सकारात्मक भएको बताए। उनका अनुसार सुरुमा महँगो हुन सक्ने यो प्रविधि भविष्यमा विस्तारै धेरै बिरामीको पहुँचमा पुग्न सक्छ।
कार–टी सेल थेरापी विशेषगरी केही आक्रामक रक्त क्यान्सरमा प्रयोग गरिन्छ। सामान्यतया पहिलो चरणको उपचारका रूपमा नभई केमोथेरापीलगायत स्थापित उपचार विधिले काम नगरेका वा क्यान्सर पुनः बल्झिएका बिरामीका लागि यसको विकल्पमा विचार गरिन्छ।
नेपालमै यस्तो उपचार उपलब्ध हुँदा विदेश जानुपर्ने बाध्यता र उपचार खर्च घट्न सक्ने चिकित्सकहरूको अपेक्षा छ। विशेषज्ञहरूका अनुसार भारतमा कार–टी सेल थेरापी गराउन एक बिरामीले ७० लाख रुपैयाँभन्दा बढी खर्च गर्नुपर्ने हुन सक्छ।
हाल यो उपचार त्रिवि शिक्षण अस्पतालमा उपलब्ध रहेको र निकट भविष्यमा अन्य अस्पतालले पनि सेवा विस्तार गर्ने तयारी गरिरहेको बताइएको छ। यद्यपि, उपचारको दीर्घकालीन प्रभावकारिता र सुरक्षाबारे निष्कर्ष निकाल्न बिरामीको निरन्तर निगरानी र थप चिकित्सकीय मूल्याङ्कन आवश्यक हुनेछ।
प्रतिक्रिया दिनुहोस