२०८३, आश्विन ३० गते

शुक्रवार, आश्विन ३० गते २०८३

रमेश पाठकको शब्द, संगीत तथा स्वरमा ‘हाम्रो माया कहिल्यै छुट्दैन’सार्वजनिक

आइतवार, आश्विन १८ २०८३०१:०३

काठमाडौं । गायक तथा संगीतकार रमेश पाठकको शब्द, संगीत तथा स्वरमा तयार भएको प्रेमगीत ‘हाम्रो माया कहिल्यै छुट्दैन’ को अडियो तथा भिडियो सार्वजनिक गरिएको छ। काठमाडौंको चाबहिलस्थित चलचित्र विकास बोर्डमा आयोजित विशेष समारोहबीच गीत तथा भिडियो सार्वजनिक गरिएको हो।

चलचित्र कलाकार संघका पूर्वअध्यक्ष तथा वरिष्ठ कलाकार मोहन निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाली कला, संगीत, नृत्य, पत्रकारिता तथा मनोरञ्जन क्षेत्रका विभिन्न विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा वरिष्ठ नृत्य निर्देशक कमल राई, वरिष्ठ नृत्य निर्देशक तथा डिडानका पूर्वकेन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठ, कलाकार पुजना प्रधान गुरुङ, वरिष्ठ संगीतकार राजु सिंह, गायक तथा संगीतकार भानुभक्त ढकाल, महाकाव्यकार क्षेमनाथ दाहाल तथा नृत्य निर्देशक टेक लामा छिरिङलगायतको उपस्थितिमा गीत तथा भिडियो सार्वजनिक गरिएको हो।

त्यस्तै, वरिष्ठ पत्रकार तथा मिलाप मासिकका प्रधान सम्पादक कृष्ण भुसाल, प्रस्तोता समाजका अध्यक्ष नरहरि प्रेमी, पत्रकार गीता अधिकारी, गायिका सारिका घिमिरे, गायक तथा संगीतकार योगेश काजी शाह, कार्यक्रम व्यवस्थापन संघका अध्यक्ष राजेन्द्र लुइटेल, गायक तथा संगीतकार राजेन्द्र बजगाई र चेतन राईलगायतको कार्यक्रममा उपस्थिति थियो।

कार्यक्रममा नृत्य निर्देशक तथा डिडानका केन्द्रीय सचिव कृष्ण रसल, नृत्य निर्देशक सागर लामा, अजयकुमार बिष्ट, निरु फुयाल र यम गुरुङलगायत कला तथा सञ्चार क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूको पनि सहभागिता रहेको थियो।

‘हाम्रो माया कहिल्यै छुट्दैन’मा रमेश पाठक र बेनीशा पौडेलको स्वर रहेको छ। गीतको संगीत संयोजन रामकृष्ण थापाले गरेका छन् भने अतिरिक्त संगीत उत्पादन तथा बीजीएम योगेश काजी शाहको रहेको छ। गीतको रेकर्डिङ बिनोद महताराले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ मनोज परियारले गरेका छन्।

गीत Wave Studio तथा Studio Sound Labमा रेकर्ड गरिएको जनाइएको छ।

गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री अलिना गुरुङ मुख्य भूमिकामा देखिएका छन्। भिडियोमा उनीहरूको प्रेमिल जोडीमार्फत प्रेम, विश्वास, समर्पण र सम्बन्धका भावनात्मक पक्षलाई प्रस्तुत गरिएको छ।

भिडियोको कोरियोग्राफी रोशन विश्वकर्माले गरेका छन् भने छायांकन दिनेश पराजुली, मेकअप सपना लाम्साल तथा सम्पादन र कलरिङ डिन्सन शाहले गरेका छन्। भिडियोको निर्देशन भने स्वयं रमेश पाठकले गरेका हुन्।

प्रेम सम्बन्धमा आउने विभिन्न उतारचढाव, समय र परिस्थितिका चुनौती तथा सामाजिक बाधाबीच पनि साँचो प्रेमप्रतिको विश्वास र आत्मीयता कायम रहने भावलाई भिडियोमा कलात्मक ढंगले प्रस्तुत गरिएको छ।

गीतले ‘साँचो प्रेम समय र परिस्थितिले बदल्न सक्दैन’ भन्ने भावलाई केन्द्रमा राखेको छ। सरल तथा प्रेमिल शब्द, भावनात्मक संगीत र आकर्षक दृश्य संयोजनमार्फत तयार पारिएको गीत तथा भिडियोले युवा पुस्तासहित प्रेमिल संगीत मन पराउने दर्शक तथा स्रोताको मन जित्ने अपेक्षा गरिएको छ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij