काठमाडौं । ‘किड्स, मिस एण्ड मिसेस’ प्रतियोगिताको अवसरमा सफल महिला उद्यमी तथा चलचित्र ‘मन विनाको धन’ की निर्मात्री सपना शर्मा मिनुले बाल आश्रमका लागि नगद सहयोग गरेकी छन्।
काठमाडौंको कोटेश्वरस्थित कान्जिरोवा स्कुलमा सम्पन्न प्रतियोगिताका क्रममा शर्मा मिनुले बाल आश्रममा रहेका बालबालिकाको शिक्षा, पालनपोषण तथा आवश्यक सहयोगका लागि नगद रकम प्रदान गरेकी हुन्। बालबालिकाको प्रतिभा विकाससँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिँदै गरिएको उनको सहयोगले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको आयोजकले जनाएको छ।
सपना शर्मा मिनु व्यवसाय र सामाजिक सेवामा सक्रिय महिला व्यक्तित्वका रूपमा परिचित छिन्। उनले लामो समयदेखि विभिन्न सामाजिक तथा मानवीय सेवाका गतिविधिमा आफ्नो सहभागिता जनाउँदै आएकी छन्। विशेषगरी महिला हिंसाविरुद्धको अभियान तथा महिलाको अधिकार र सम्मानका पक्षमा आवाज उठाउँदै सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएकी छन्।
बालबालिका तथा महिलाको प्रतिभा, आत्मविश्वास र व्यक्तित्व विकासलाई केन्द्रमा राखेर आयोजना गरिएको प्रतियोगितामा उनको सामाजिक पहलले कार्यक्रमको उद्देश्यलाई थप सार्थक बनाएको आयोजकको भनाइ छ।
प्रतियोगितामा ३२ जना प्रतिस्पर्धी सहभागी थिए। किड्सतर्फ स्वस्तिका श्रेष्ठ, मिसतर्फ प्रसी अधिकारी र मिसेसतर्फ सुनिता मुनाकल विजेता बनेका थिए।
प्रतिक्रिया दिनुहोस