नेपाल पूर्व प्रहरी कलाकार संघको दोस्रो वार्षिकोत्सव तथा तेस्रो स्रष्टा सम्मान कार्यक्रममा कला क्षेत्रका विभिन्न विधामा उल्लेखनीय योगदान पु¥याएका पाँच जना कलाकर्मी सम्मानित भएका छन्।
अभिनेत्री तथा नृत्य कलाकार मिथिला शर्माले आफ्ना गुरुहरूको स्मृतिमा स्थापना गरेको सम्मान बुधबार गुरु पूर्णिमाको अवसर पारेर राजधानीस्थित नेपाल पुलिस क्लबमा आयोजित विशेष समारोहबीच प्रदान गरिएको हो। सम्मानसँगै आकर्षक नगद पुरस्कारसमेत प्रदान गरिएको थियो।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा हास्य कलाकार तथा निर्देशक सन्तोष पन्तलाई हाडा एन्ड पाल हास्य वाङ्मय साधना सम्मान २०८३ प्रदान गरियो। त्यस्तै, गायक तथा संगीतकार डा. किरण प्रधानलाई गोपाल योञ्जन संगीत साधना सम्मान २०८३ तथा नृत्यांगना विमल श्रेष्ठ क्षेत्रीलाई राजपाल थापा नृत्य साधना सम्मान २०८३ प्रदान गरिएको थियो।
यसैगरी, साहित्यकार तथा गीतकार नेपाल सेनाका पूर्व उपरथी राजेन्द्र थापालाई चेतन कार्की गीति वाङ्मय साधना सम्मान २०८३ प्रदान गरिएको थियो। यी सबै सम्मान अभिनेत्री तथा संघकी सल्लाहकार मिथिला शर्माले आफ्ना गुरुहरूको सम्झनामा स्थापना गरेकी हुन्। सम्मानको नगद राशि जनही २५ हजार रुपैयाँ रहेको छ, जुन मिथिला शर्माकै तर्फबाट प्रदान गरिएको हो।
कार्यक्रममा अभिनेता तथा नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक अर्जुनजंग शाहीलाई पहिलोपटक नेपाल पूर्व प्रहरी कला साधना सम्मान २०८३ प्रदान गरिएको थियो।
कार्यक्रमको विशेष आकर्षण सम्मानित व्यक्तित्वहरूको जीवनयात्रा र कलात्मक योगदान समेटिएको भिडियो प्रस्तुति रह्यो। भिडियोमार्फत उनीहरूका जीवनसाथीले सफल यात्रामा पु¥याएको साथ र सहयोगप्रति सम्मान व्यक्त गरिएको थियो। सम्मान ग्रहण गर्ने क्रममा सम्मानित व्यक्तित्वका जीवनसाथीहरूलाई पनि मञ्चमा आमन्त्रण गरी सम्मान गरिएको थियो।
सम्मान प्रमुख अतिथि प्रहरी महानिरीक्षक दानबहादुर कार्की, पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहरा, अन्य पूर्व प्रहरी महानिरीक्षक तथा सम्बन्धित क्षेत्रका वरिष्ठ कलाकर्मीहरूले संयुक्त रूपमा प्रदान गरेका थिए। कला, संस्कृति तथा संघका गतिविधिमा योगदान पु¥याएका अन्य व्यक्तित्वहरूलाई पनि मायाको चिनो प्रदान गरिएको थियो।
संघकी वरिष्ठ सल्लाहकार मिथिला शर्माले आफ्ना नृत्य तथा अभिनय यात्राका गुरुहरूको स्मृतिलाई जीवन्त राख्ने उद्देश्यले उनीहरूको नाममा सम्मान स्थापना गरिएको बताइन्।
उनले भनिन्, “गुरुहरू चेतन कार्की, गोपाल योञ्जन, राजपाल थापा र ध्रुवरत्न हाडाको गौरवपूर्ण इतिहास जीवित राख्ने उद्देश्यले गुरुदक्षिणास्वरूप यो सम्मान स्थापना गरेकी हुँ। विगतले अंश माग्दैन, आमा, बुबा र गुरुको ऋण कहिल्यै तिर्न सकिँदैन। तर उहाँहरूको नाममा सम्मान अर्पण गर्न पाउँदा गुरुहरूबाट आशीर्वाद पाएजस्तो महसुस हुन्छ।”
संघका संस्थापक छत्रबहादुर गुरुङले यस्ता कार्यक्रम केवल मनोरञ्जनमा सीमित नभई कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका लागि आयोजना हुँदै आएको बताए।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले यस्ता कार्यक्रमले सेवाबाट अवकाश प्राप्त प्रहरी कर्मचारीलाई प्रहरी परिवारसँग निरन्तर जोडिराख्न महत्वपूर्ण भूमिका खेल्ने बताए।
कार्यक्रममा पूर्व तथा वर्तमान नेपाल प्रहरीसँग आबद्ध कलाकारहरूले गीत, संगीत तथा नृत्य प्रस्तुति दिएका थिए। कार्यक्रममा मिथिला शर्माले समेत विशेष प्रस्तुति दिँदै आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन्।
प्रतिक्रिया दिनुहोस