वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकहरूले अस्पतालमा भएको तोडफोड र चिकित्सकमाथि भएको कुटपिटको विरोध गर्दै सामूहिक राजीनामा दिएका छन्।
गत शनिबार भएको घटनाको विरोधमा आन्दोलनरत चिकित्सकहरूले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख एसपीको राजीनामा माग गरेका थिए। माग पूरा नभएपछि उनीहरूले सामूहिक रूपमा पदबाट राजीनामा दिने निर्णय गरेका हुन्।
चिकित्सकहरूले दुवै अधिकारीको राजीनामा नआए देशभरका चिकित्सकहरूले समेत सामूहिक राजीनामा दिने चेतावनी दिएका छन्।
नारायणी अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. रामसुफल रामका अनुसार अस्पतालमा रहेका ७० जना चिकित्सकमध्ये अधिकांशले राजीनामा बुझाइसकेका छन्। उनका अनुसार सोमबार राति १० बजेसम्म ३० जना चिकित्सकले मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाएका थिए।
उनले भने, “अहिलेसम्म ६०/६५ जनाले राजीनामा बुझाइसक्नुभएको छ। बाँकी केही चिकित्सकले पनि आज बुझाउनुहुनेछ।”
प्रतिक्रिया दिनुहोस