विराटनगर । मुलुकभर कांग्रेस–एमाले गठबन्धनमा तीव्र ध्रुवीकरण भइरहेका बेला कोशी प्रदेशमा पनि नेपाली कांग्रेसले एमालेसँगको सत्ता साझेदारी अन्त्य गर्ने निर्णय गरेको छ।
आज विराटनगरमा बसेको कांग्रेस कोशी प्रदेश कार्यदलको बैठकले एमालेसँगको गठबन्धनलाई निरन्तरता नदिने औपचारिक निर्णय गरेको हो। यद्यपि, सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूलाई तत्काल फिर्ता बोलाउने विषयमा भने केन्द्रको निर्देशन नआएसम्म निर्णय स्थगित गरिएको बताइएको छ।
बैठककै क्रममा पार्टीका केन्द्रीय नेताहरूको टेलिफोन आएपछि मन्त्री फिर्ताको निर्णय रोकिएको र अब केन्द्रको स्पष्ट निर्देशनपछि मात्रै औपचारिक प्रक्रिया अघि बढाइने स्रोतले जनाएको छ।
केही समयअघि भएको ‘जेन–जी’ आन्दोलनपछि संघीय राजनीतिमा आएको फेरबदल र प्रदेश सरकारको बजेटलाई लिएर सत्ता साझेदार दलहरूबीच बढेको मतभेदका कारण गठबन्धन संकटमा परेको हो।
यसअघि सुदूरपश्चिम र कर्णाली प्रदेशमा कांग्रेसका मन्त्रीहरूले सरकारबाट बाहिरिने क्रम सुरु भइसकेको अवस्थामा कोशीमा पनि त्यसकै प्रभाव देखिएको छ।
गठबन्धन अन्त्यसँगै कांग्रेसले कोशीमा आगामी राजनीतिक रणनीतिका लागि तीन विकल्प अघि सारेको छ। पहिलो, केन्द्रमा एमालेसँग पुनः सहकार्यको वातावरण बने गठबन्धनलाई निरन्तरता दिने। दोस्रो, एमालेसँगको सहकार्य पूर्ण रूपमा अन्त्य भए नेकपा तथा अन्य दलसँग मिलेर नयाँ सरकार गठन गर्ने। र तेस्रो, कुनै पनि समीकरण सम्भव नभए कांग्रेस प्रतिपक्षमा बस्ने।
केन्द्रमा कांग्रेस सभापति गगन थापा र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच नयाँ राजनीतिक समीकरणबारे संवाद चलिरहेका बेला कोशीमा पनि नयाँ समीकरणको सम्भावना बढेको विश्लेषण गरिएको छ।
हाल कोशी प्रदेश सरकारमा कांग्रेसका तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री प्रदीपकुमार सुनुवार, उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी, स्वास्थ्य मन्त्री मानबहादुर लिम्बू, पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली तथा भौतिक पूर्वाधार राज्यमन्त्री शोभा चेम्जोङसहित पाँच जना सहभागी छन्।
प्रतिक्रिया दिनुहोस