धनगढी। ए.एस. उडान फिल्म प्रोडक्सन प्रा.लि.को प्रस्तुतिमा तयार गरिएको सुदूरपश्चिमेली डोटेली भाषाको गीति एल्बम ‘हिरोइन मिनाकुमारी’ एक विशेष समारोहका बीच धनगढीमा भव्य रूपमा सार्वजनिक गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका संस्थापक उपकुलपति तथा संस्कृतिविद् डा. टी.एन. जोशीले गीति एल्बमको औपचारिक विमोचन गर्नुभएको थियो। उहाँले सुदूरपश्चिमको भाषा, कला, संस्कृति र मौलिक पहिचान संरक्षण तथा प्रवर्द्धनमा यस्ता सिर्जनात्मक कृतिले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी राजकुमार जोशी, वरिष्ठ नृत्य निर्देशक तथा सनराइज टिभीका CEO दीप श्रेष्ठ, सनराइज टिभीका प्रबन्ध निर्देशक उत्तम थापा, वरिष्ठ नृत्य निर्देशक तथा सुपक थारु सलिमा पहुराका प्रमुख गोविन्द मुखिया, राज इन्टरटेन्मेन्टका राज चौधरी, सुपकला प्रतिष्ठानका उपाध्यक्ष चन्द्रु चौधरी, लायन्स धनगढीका अध्यक्ष मेघा भट्ट, समाजसेवी पुष्पा जोशी, क्यामेराम्यान अनिल चौधरी, को.ई. एकेडेमीकी शिक्षिका कान्ति गिरि, थारु गीति एल्बमका चर्चित मोडल बिनार चौधरी, प्राध्यापक कमल पन्त, सजल नृत्यकला केन्द्रकी पुष्पा बडैला ‘सजल’, मोडल केशव भाट तथा कलाकार मोहन भुसाललगायतको विशिष्ट आतिथ्यता रहेको थियो।
त्यसैगरी, कार्यक्रमको अन्तिम समयमा ख्यातिप्राप्त उद्घोषक गुणाकर पनेरु तथा मोडल अनु खड्काको समेत उपस्थिति रहेको थियो। कार्यक्रमको आतिथ्य व्यवस्थापनमा श्री बागेश्वरी इन्टरप्राइजेज धनगढी, भरत राज भट्ट ह्यानोभर, मेरिल्याण्ड, अमेरिका तथा पूर्व संघीय सांसद डिल्लीराज पन्तको सहयोग रहेको निर्माण पक्षले जनाएको छ। विशेष धन्यवाद केशवराज जोशीलाई व्यक्त गरिएको छ।
कार्यक्रमको अध्यक्षता तथा सञ्चालन ए.एस. उडान फिल्म प्रोडक्सन प्रा.लि.का अध्यक्ष, निर्माता, निर्देशक तथा सुदूरपश्चिमका प्रथम नायक अम्बिका प्रसाद आचार्यले गर्नुभएको थियो। उहाँले सुदूरपश्चिमको मौलिक भाषा, कला, संस्कृति र प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यका साथ ए.एस. उडान फिल्म प्रोडक्सनले निरन्तर सिर्जनात्मक कार्य गर्दै आएको बताउनुभयो।
‘जैल सम्म माइत रन्छ मिनाकुमारी, नत भयौं तमरी नत हमरी…’ बोल रहेको गीतमा चर्चित गायक दिलबहादुर बिक र गायिका सन्चिता नेपालीको स्वर रहेको छ। गीतको कथा तथा निर्देशन नरेश नागरी र केशव भाटले संयुक्त रूपमा गर्नुभएको हो।
गीतको भिडियोमा केशव भाट र मनिषा सिंह ठकुरीको मुख्य अभिनय रहेको छ भने सुदूरपश्चिमका प्रथम नायक तथा वरिष्ठ चलचित्रकर्मी अम्बिका प्रसाद आचार्यको अभिनयलाई पनि गीतको विशेष आकर्षणका रूपमा लिइएको छ। अन्य कलाकारहरूमा चूडामणि जोशी र मोहन भुसाल रहेका छन्।
गीतको छायांकन अनिल चौधरीले गर्नुभएको हो भने लाइट व्यवस्थापन अनिक चौधरीले गर्नुभएको छ। रेकर्डिङ द म्युजिक इरा स्टुडियोमा गरिएको गीतको संगीत संयोजन कृष्ण बाजुरेलीले गर्नुभएको हो।
निर्माण पक्षका अनुसार सुदूरपश्चिमका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको यो गीतले डोटेली भाषा, संस्कृति र मौलिकतालाई उजागर गर्ने प्रयास गरेको छ। गीत गायक दिलबहादुर बिकको आधिकारिक युट्युब च्यानलमार्फत असार १७ गते साँझ ४ः४५ बजे सार्वजनिक गरिएको हो।
सुदूरपश्चिमको मौलिक कला, भाषा र संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यका साथ तयार पारिएको ‘हिरोइन मिनाकुमारी’ ले दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया पाउने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ।
प्रतिक्रिया दिनुहोस