काठमाडौँ । रघुजी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्म ‘तीन तिघ्रे क्या बिग्रे’ को औपचारिक घोषणा गरिएको छ। आइतबार भक्तपुरस्थित सूर्यविनायक गणेश मन्दिरमा स्क्रिप्ट पूजा गर्दै निर्माण टिमले फिल्मको घोषणा गरेको हो।
अमरदीप सापकोटाको लेखन तथा निर्देशन रहने यो फिल्म आगामी असार महिनाको अन्तिम सातादेखि छायाङ्कनमा जाने तयारीमा रहेको छ।
फिल्ममा चर्चित लोकगायक पशुपति शर्मा र गायिका अन्जु पन्तकी छोरी परितोषिका पन्त मुख्य भूमिकामा देखिनेछन्। दुवै कलाकारका लागि यो पहिलो चलचित्र हुने भएकाले फिल्मप्रति दर्शकको चासो बढेको छ।
कमेडी जनरामा निर्माण हुने ‘तीन तिघ्रे क्या बिग्रे’ पूर्ण मनोरञ्जनात्मक प्याकेजका रूपमा दर्शकमाझ प्रस्तुत गरिने निर्देशक सापकोटाले बताएका छन्।
निर्माता रघुनाथ सापकोटा का अनुसार रघुजी फिल्मस्ले यसअघि घोषणा गरेका केही परियोजना प्राविधिक कारणले ढिलाइ भएपछि यो फिल्मलाई निर्माणमा अघि बढाइएको हो।
फिल्मको नेपाल वितरणको जिम्मेवारी आरआर फिल्मस् ले लिएको छ।
प्रतिक्रिया दिनुहोस