विराटनगर । विराटनगर विमानस्थलभित्र सञ्चालित चार पसललाई यात्रुसँग अंकित मूल्यभन्दा बढी रकम असुलेको आरोपमा जिल्ला प्रशासन कार्यालय मोरङले १२ लाख रुपैयाँ जरिवाना गरेको छ।
जनगुनासोपछि गरिएको आकस्मिक अनुगमनमा ममता होटलले १०० रुपैयाँ पर्ने डेरी मिल्क चकलेट २०० रुपैयाँमा, ग्यालेक्सी क्याफे एन्ड होटलले ५० रुपैयाँ पर्ने कोकाकोला १६० रुपैयाँमा बिक्री गरेको पाइएको थियो। यस्तै, गरिमा क्याफेले ५० रुपैयाँको कोकाकोला ८० रुपैयाँमा र अनुकुल होटल एन्ड भान्छा घरले ८ रुपैयाँ पर्ने चकलेट १७ रुपैयाँ ६९ पैसामा बिक्री गरेको भेटिएको प्रशासनले जनाएको छ।
उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार चारवटै पसललाई जनही ३ लाख रुपैयाँका दरले जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जानकारी दिए। कारबाहीबाट कुल १२ लाख रुपैयाँ राजस्व संकलन भएको छ।
प्रशासनले उपभोक्ता ठगी गर्ने व्यवसायीमाथि आगामी दिनमा पनि नियमित अनुगमन र कडा कारबाही जारी रहने जनाएको छ।
प्रतिक्रिया दिनुहोस