स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका ३२ अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानलाई आफ्नो स्वामित्वमा रहेका जग्गा तथा भौतिक सम्पत्तिको संरक्षणसम्बन्धी विस्तृत विवरण तीन दिनभित्र पेश गर्न निर्देशन दिएको छ।
मन्त्रालयले वैशाख ३० गते गरेको निर्णयअनुसार अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानको स्वामित्वमा रहेका जग्गा र भौतिक पूर्वाधारको सुरक्षा तथा संरक्षण सुनिश्चित गर्न आवश्यक कदम चाल्न तथा त्यसको प्रगति विवरण उपलब्ध गराउन निर्देशन दिएको थियो। तर हालसम्म अधिकांश संस्थाबाट विवरण प्राप्त नभएपछि मन्त्रालयले पुनः तीन दिनको समयसीमा तोकेको जनाएको छ।
मन्त्रालयका अनुसार अस्पताल तथा स्वास्थ्य संस्थाको स्वामित्वमा रहेका जग्गा अतिक्रमण भएको पाइएमा तत्काल आवश्यक प्रक्रिया अघि बढाउनुपर्नेछ। तोकिएको अवधिमा अतिक्रमण हटाउन असहयोग वा अटेर भएमा जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गरी अतिक्रमित क्षेत्र खाली गराई अस्पतालको भोगाधिकार पुनः स्थापित गर्नुपर्ने व्यवस्था गरिएको छ।
निर्देशन प्राप्त गर्ने संस्थाहरूमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कोसी अस्पताल, भेरी अस्पताल, भरतपुर अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, गेटा अस्पताललगायत ३२ अस्पताल तथा स्वास्थ्यसम्बद्ध प्रतिष्ठान रहेका छन्।
मन्त्रालयले सार्वजनिक सम्पत्तिको संरक्षण तथा स्वास्थ्य संस्थाको दीर्घकालीन हितका लागि जग्गा तथा पूर्वाधारको अभिलेख अद्यावधिक गर्दै सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस