स्वास्थ्य सेवा, आयुर्वेद चिकित्सा तथा सामाजिक सेवाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको पूर्णायु आयुर्वेद हस्पिटल र यसका सञ्चालक प्रल्हाद चौहान लाई “राष्ट्रिय आयुर्वेद गौरव सम्मान–२०८३” प्रदान गरिएको छ।
कागेश्वरी मनोहरा नगरपालिका–५, थलीचौरमा आयोजित “ज्येष्ठ नागरिक सम्मान तथा शुभकामना साँझ–२०८३” कार्यक्रममा चौहानलाई उक्त सम्मान प्रदान गरिएको हो। स्वास्थ्य सेवा, युवा उद्यमशीलता तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा निरन्तर सक्रिय रही समाजमा सकारात्मक योगदान पुर्याएको मूल्यांकन गर्दै उनलाई सम्मान गरिएको आयोजकले जनाएको छ।
भिमसेनगोला, काठमाडौंस्थित पूर्णायु आयुर्वेद हस्पिटलले आयुर्वेदिक उपचार पद्धतिको संरक्षण, प्रवर्द्धन तथा जनस्वास्थ्य चेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। अस्पतालले ग्यास्ट्रिक, पाइल्स, फिसर, फिस्टुला, थाइराइड, मधुमेह, रक्तचाप, पत्थरी, छाला रोग लगायत विभिन्न स्वास्थ्य समस्याका बिरामीलाई आयुर्वेदिक परामर्श तथा उपचार सेवा प्रदान गर्दै आएको छ।
सम्मान ग्रहण गर्दै चौहानले आयुर्वेद उपचार प्रणालीप्रति नागरिकको विश्वास बढाउन र गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्न आफू निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरे। उनले स्वास्थ्य सेवा केवल व्यवसाय नभई समाजप्रतिको उत्तरदायित्व र मानवीय सेवाको महत्वपूर्ण माध्यम भएको बताए।
कार्यक्रममा वक्ताहरूले पूर्णायु आयुर्वेद हस्पिटलले छोटो समयमै नागरिकको विश्वास जित्न सफल भएको उल्लेख गर्दै आयुर्वेदिक उपचार प्रणालीलाई जनस्तरसम्म पुर्याउन संस्थाले खेलेको भूमिका प्रशंसनीय रहेको बताए।
आयोजकका अनुसार उक्त सम्मानले आयुर्वेद चिकित्सा क्षेत्रप्रति जनविश्वास अभिवृद्धि गर्नुका साथै स्वास्थ्य सेवा र सामाजिक उत्तरदायित्वमा समर्पित व्यक्तित्वहरूलाई थप प्रेरणा प्रदान गर्ने विश्वास लिइएको छ।
पूर्णायु आयुर्वेद हस्पिटलले “पूर्ण स्वास्थ्य, पूर्ण विश्वास, पूर्ण आयु” भन्ने मूल नारासहित स्वास्थ्य सेवामा निरन्तर योगदान पुर्याउँदै आएको छ।
प्रतिक्रिया दिनुहोस