युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान हटाइने वा भत्काइने कुनै योजना नरहेको स्पष्ट पारेका छन्।
मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री पोखरेलले खेल मैदान खाली गराउने सरकारको उद्देश्य नरहेको बताएका हुन्।
उनका अनुसार त्रिभुवन विश्वविद्यालयसँगको लिज सम्झौता समाप्त भएको कारण यस विषयमा चर्चा आएको हो। उनले भने, “त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसँग मेरो बैठक भएको थियो। खाली गराउने कुनै उद्देश्य होइन। लिज सम्झौता सकिएको हुनाले पुनः नयाँ लिज सम्झौता गर्नुपर्नेछ।”
मन्त्री पोखरेलले राज्यको ठूलो लगानी भएकाले मैदान खाली नहुने र आवश्यक प्रक्रिया पूरा गरी नयाँ लिज सम्झौता गरिने स्पष्ट पारे।
प्रतिक्रिया दिनुहोस