काठमाडौं– भारतीय संगीत क्षेत्रकी प्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ। उनका छोराले आइतबार निधनको खबर पुष्टि गरेका हुन्।
भारतीय संगीत जगतकी सबैभन्दा सम्मानित गायिकामध्ये एक मानिने भोसलेको निधनसँगै एक युगको अन्त्य भएको बताइन्छ। उनी आफ्नी दिदी लता मंगेशकरसँगै हिन्दी संगीतको स्वर्ण युग निर्माणमा महत्वपूर्ण योगदान दिने कलाकारमध्ये थिइन्।
सन् १९४३ मा बाल्यकालमै गायन यात्रा सुरु गरेकी भोसलेले प्रारम्भमा आफ्नी दिदीको छायामा संघर्ष गर्नुपरे पनि पछि आफ्नै छुट्टै पहिचान बनाइन्। विशेषगरी चलचित्रका नृत्य गीत र क्याबरे शैलीका गीतमा उनको स्वर अत्यन्त लोकप्रिय रह्यो।
‘पिया तू अब तो आजा’, ‘ये मेरा दिल’, ‘दम मारो दम’ र ‘ओ हसीना जुल्फोंवाली’ जस्ता गीतमार्फत उनले बलिउड संगीतमा छुट्टै पहिचान बनाएकी थिइन्। ६० र ७० को दशकमा अभिनेत्री हेलेनमा छायांकन हुने धेरै गीतमा उनको स्वर रहने गर्थ्यो।
भोसलेले नेपाली चलचित्र उद्योगमा पनि योगदान दिएकी थिइन्। उनले ‘मोहनी लाग्ला है’ लगायतका नेपाली गीतमा स्वर दिएकी छन्। नेपाल भ्रमणका क्रममा उनले नेपाली गीत गाउन आफूलाई गायक डैनी डेन्जोङ्पाले सिकाएको बताएकी थिइन्।
उनको निधनसँगै दक्षिण एसियाली संगीत क्षेत्रले एक ऐतिहासिक स्वर गुमाएको छ।
प्रतिक्रिया दिनुहोस